विद्युत आपूर्ति कटौती र मागमा आएको कमीका कारण केही समययता उद्योगहरूको उत्पादन घटेको थियो। प्रतिसेयर आम्दानी पनि धेरै ऋणात्मक थियो।
अब भने बिस्तारै यी उद्योगहरू बौरिन थालेका छन्। केही कम्पनीको प्रतिसेयर आम्दानी उच्च मात्रामा सकारात्मक भइरहेको छ। त्यस्तै कतिपयको नकारात्मक रहेको प्रतिसेयर आम्दानी कम हुँदै गएको छ।
यसका उदाहरण हुन्, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट, शिवम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स।
आर्थिक वर्ष २०८०/८१ मा सोनापुर र घोराही सिमेन्टको प्रतिसेयर आम्दानी क्रमशः १६ रूपैयाँ ९१ पैसा र ३१ रूपैयाँ ६८ पैसाले नकारात्मक थियो।
२०८१/८२ को पहिलो त्रैमासमा आइपुग्दा सोनापुरको ११ रूपैयाँ ३३ पैसा र घोराहीको ११ रूपैयाँ २५ पैसाले मात्रै नकारात्मक छ।
त्यस्तै शिवम सिमेन्टको प्रतिसेयर आम्दानी २०८१/८२ को पहिलो त्रैमासमा एक रूपैयाँ २ पैसा थियो। दोस्रो त्रैमासमा केही सुधार भएर दुई रूपैयाँ ०८ पैसा पुगेको छ।
प्रतिसेयर आम्दानीको राम्रो सुधार रिलायन्स स्पिनिङ मिल्समा पनि भएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा दुई रूपैयाँ ९५ पैसामा खुम्चिएको कम्पनीको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा बढेर २२ रूपैयाँ १९ पैसा पुगेको छ।
मिल्सले चालु वर्षको दोस्रो त्रैमासमा १८ करोड रूपैयाँ नाफा कमाएको छ। यो गत वर्षको यही अवधिको तुलनामा २७४ प्रतिशत (३.७४ गुणा) बढी हो।
कम्पनीको आम्दानी केही घटे पनि बिक्री, प्रशासनिक लगायत खर्च समेत घटेपछि नाफामा सुधार भएको देखिएको छ।
रिलायन्स स्पिनिङ मिल्स धागो उत्पादन गर्नेमध्ये सबभन्दा ठूलो उद्योग हो। २०५१ सालमा स्थापित यो उद्योग 'ए' र 'बी' गरी दुइटा ब्लकमा विभाजन गरिएको छ। ब्लक 'ए' सुनसरीको इटहरी नगरपालिका–१२ मा छ भने ब्लक 'बी' दुहबी–४ मा छ।
पुरानो उद्योग ब्लक 'ए' २५ सय विघा जमिनमा फैलिएको छ। उद्योगमै कामदारका लागि बस्ने भवन बनाइएको छ। यहाँ काम गर्ने अधिकांश कामदारलाई आवासीय सुविधा दिइएको कम्पनीका उपाध्यक्ष तथा मानव संसाधन विभाग प्रमुख महेश पोखरेलले बताए।
उद्योगमा विभिन्न जातजातिबाट आएका कामदार छन्, उनीहरू आ–आफ्नो चाडवाडको आधारमा बिदा बस्छन्। तर पनि यो उद्योग वर्षको दुई दिन मात्रै बन्द रहने उनले बताए। होली र मजदुर दिवसमा उद्योग पूर्ण रूपमा बन्द हुन्छ। अन्य समय हरेक दिन २४ सै घण्टा चल्ने पोखरेलले जानकारी दिए।
उद्योगमा कुल चार हजार कामदार छन्। महिला कामदारको संख्या १ हजार ५ सय ५० छन्। उद्योगलाई चाहिने दक्ष जनशक्ति कम्पनी आफैँले तयार गर्दै आएको छ।
२०८०–८१ मा सबैभन्दा धेरैलाई रोजगारी दिने उद्योगको रूपमा रिलायन्सले अवार्ड प्राप्त गर्न सफल भएको थियो। उच्च नाफा कमाएको अवधिमा कम्पनीले कर्मचारीहरूलाई चार महिनासम्मको बोनस समेत दिने गरेको छ।
मिल्समा काम गर्ने श्रमिकका करिब २ सय जना छोराछोरीलाई उद्योगले पठनपाठन सामग्री समेत वितरण गर्दै आएको छ। उद्योगको ब्लक 'ए' मा पुरानादेखि जापानी उच्च प्रविधिका आठ वटा प्लान्ट छन्। सो ब्लकमा थप चार वटा प्लान्ट राख्ने योजना कम्पनीको छ।
त्यस्तै, ब्लक 'बी' केही वर्षयता मात्रै सञ्चालनमा आएको हो। यो उद्योग ६ सय विघा जमिनमा फैलिएको छ।
उद्योगले भारत, जापान, थाइल्याण्ड, कोरिया, जापान लगायतबाट कच्चा पदार्थ (फाइबर) ल्याएर कटन, सिन्थेटिक, एक्रेलिक लगायतका धागो उत्पादन गरिरहेको छ।
हाल उद्योगको वार्षिक उत्पादन क्षमता ४८ हजार ९ सय ६० मेट्रिक टन छ। उत्पादनको २० देखि २५ प्रतिशत धागो स्वदेशमा खपत हुन्छ। बाँकी ७५ देखि ८० प्रतिशत धागो भारत, टर्की, दुबई, मलेसिया लगायत देशमा निर्यात हुँदै आएको छ। कम्पनीले आगामी दिनमा बंगलादेशमा पनि निर्यात तयारी गरिरहेको छ।
'हामीले नमूनाका लागि धागो पठाएको थियौं। उनीहरूले हाम्रो उत्पादन रूचाएका छन्,' कम्पनीका उपाध्यक्ष पोखरेलले भने, 'अब चाँडै व्यावसायिक रूपमै पठाउँछौं।'
पछिल्लो समय उद्योगको प्रमुख समस्या भनेको विद्युत हो। हाल उद्योगले स्वीकृत लिएजति विद्युत उपभोग गर्न पाएका छैनन्।
उद्योगले नेपाल विद्युत प्राधिकरणबाट १४ मेगावाट विद्युत उपभोगको स्वीकृति लिए पनि दैनिक २.५ युनिट खपत गरिरहेको छ। बाँकी १० मेगावाट बिजुली डिजेल र फर्नेस आयलबाट प्राप्त गरिरहको छ।
डिजेल तथा फर्नेस आयालबाट उद्योग चलाउँदा लागत बढेकाले दीर्घकालीन रूपमै विद्युतको समस्या समाधान गर्न कम्पनीले आफै ९.२ मेगावाटको सोलार प्लान्ट राख्दै छ। हालसम्म उद्योगमा १५ अर्ब बढी लगानी भइसकेको छ। स्थापनाको २८/२९ वर्षपछि कम्पनीले आइपिओ जारी गर्ने तयारी गरिरहेको छ।
योग्य संस्थागत लगानीकर्ताले बोलकबोलबाट हालेको मूल्य अनुसार कम्पनीको सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रूपैयाँ निस्किएको थियो।
सर्वसाधारणले कम्पनीको सेयर प्रतिकित्ता मूल्य आठ सय २० रूपैयाँ ८० पैसामा पाउने देखिएको थियो।
विभिन्न कारण लामो समय रोकिएको रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न धितोपत्र बोर्डले केही समय अघि मात्रै समिति बनाएको छ।
उच्च अदालत पाटनबाट कम्पनीको आइपिओ निष्कासन विरुद्ध परेको रिट खारेज भएसँगै धितोपत्र बोर्डले समिति बनाएको हो।
उच्च अदालतले यो विषयमा धितोपत्र बोर्डलाई नै पुनरावलोकन गर्न भनेपछि यस्तो समिति बनाइएको हो।
कम्पनीले आइपिओबाट उठेको पैसा उद्योगको विस्तारमै लगाउने भएको छ। कम्पनीले इनरूवा नगरपालिकामा २५ सय बिगा जमिनमा उद्योगको प्लान्ट लगाउने योजना बनाएको छ।
त्यसका लागि जग्गाको व्यवस्थापन भइसकेको छ।