बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार आठ अर्ब ९१ करोडको कारोबार भएकोमा बुधबार आठ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ६ हजार ६ सय रूपैयाँ र ५२९ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य ९.९९ प्रतिशत बढेर प्रतिकित्ता मूल्य ५७४ रूपैयाँ ६० पैसा कायम भएको छ।
बुधबार सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतका दरले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६६४ रूपैयाँ र दुई हजार २२६ रूपैयाँ ७० पैसामा झरेको छ।
बुधबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९९८ रूपैयाँ ९० पैसामा ३३ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.१० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन पावर पार्टनर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०५ रूपैयाँमा २७ करोड १४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।