बुधबार नेपालीहरूले एक सय ३९ रूपैयाँ ६२ पैसा तिरेर एक डलर साट्न सक्छन्।
यो हालसम्मकै उच्च आसपास हो। मंगलबार डलरको विनिमय दर हालसम्मकै उच्च एक डलर बराबर एक सय ३९ रूपैयाँ ८० पैसा पुगेको थियो।
डलरको भाउ (विनिमय दर)लाई सोझै नेपाली रूपैयाँसँग सम्बन्धित गरिएको छैन। अर्थात्, डलरको भाउ नेपालीले मुद्राको आधारमा नभएर भारतीय मुद्राको आधारमा तोकिन्छ। नेपाली मुद्रा र भारतीय मुद्राको विनिमय दर स्थिर (पेग्ड गरिएको) राखिएको छ। नेपालले लामो समयदेखि एक भारूको लागि एक रूपैयाँ ६० पैसा तोकिएको छ।
अन्तर्राष्ट्रिय व्यापारको करिब ७० प्रतिशत हिस्सा भारतसँगै रहेकोले पनि यसरी स्थिर दर बनाउँदा नेपाललाई लाभ हुने मानिएको हो।
अहिले डलरसँग भारूको विनिमय दर इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार बुधबार एक्सचेन्जहरूमा भइरहेको कारोबारमा एक डलर ८७.१२ भारूको दरमा कारोबार भइरहेको छ।
गत सोमबार पहिलो चोटी डलरको तुलनामा भारू इतिहासकै कमजोर भएको थियो। सो दिन पनि एक डलरको ८७.२९ भारू परिरहेको थियो।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै उनले व्यापारमा कर बढाउने तयारी गरिरहेका छन्। यही तनावको कारण भारू समेत कमजोर भइरहेको हो।
अमेरिकाको राम्रो सम्बन्ध रहेका क्यानडा र मेक्सिको जस्ता मुलुकबाट हुने आयातमा समेत ट्रम्पले कर बढाउने भएपछि भारत पनि यसबाट अछुतो नरहने आँकलन गरिएको छ। यसले भारतबाट अमेरिका तर्फ हुने निर्यात प्रभावित हुन सक्छ।
बिबिसिका अनुसार २०२३ मा भारतबाट अमेरिकातर्फ वस्तु निर्यात ४० प्रतिशतले बढेर १२३ अर्ब डलर र सेवा निर्यात २२ प्रतिशतले बढेर ६६ अर्ब डलर पुगेको थियो। तर, अमेरिकाबाट भारततर्फको निर्यात भने मात्रै ७७ अर्ब डलर रहेको छ।
भारतबाट अमेरिकातर्फ नियात हुने स्टिल आल्मुनियम, औषधि लगायतका उत्पादनमा कर बढ्न सक्ने अनुमान गरिएको छ।
हालै भारतले अमेरिकासँग नरम व्यवहारको संकेत गर्दै त्यहाँबाट भारत भित्रिने ह्यरले डेभिडसन मोटरसाइकलहरूको भन्सार शुल्क घटाएको थियो। १६०० सिसिको मोटरसाइलको भन्सार शुल्क ५० बाट ४० प्रतिशत र १६०० सिसि माथिको मोटरसाइकलको भन्सार शुल्क ५० बाट घटाएर ३० प्रतिशतमा झारेको थियो।
सन् २०२४/२५ मा भारतमा यस्तो ३० लाख डलर बराबरका यस्ता मोटरसाइकल आयात भएको थियो।
अमेरिकाले फेब्रुअरी एकबाट लागु हुने गरेर क्यानडा र मेक्सिको जस्ता मुलुकबाट हुने आयातमा २५ प्रतिशत लेभी (कर) लगाएको फर्स्ट पोस्टले आफ्नो समाचारमा उल्लेख गरेको छ। भारत पनि कर वृद्धिको चपेटामा पर्न सक्ने आँकलन गरिएको हो।
कतिपय लगानीकर्ताहरूले सन् २०२७ सम्ममा एक डलरको लागि एक सय भारू पर्न सक्ने विश्लेषण समेत गर्न थालेका छन्। भारतीय मुद्राको तुलनामा डलरको भाउ १४ वर्षका दोब्बर भएको र वार्षिक पाँच प्रतिशतको हाराहारीमा बढेको विश्लेषणबाट देखिएको समेत सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
डलरको तुलनामा भारूमा आएको गिरावटको कारण नेपाली मुद्रा पनि करिब एक वर्षको अवधिमा पाँच प्रतिशतले अवमूल्यन भएको छ।
२०८० फागुन २९ गते एक डलरको सटही दर एक सय ३२ रूपैयाँ ७२ पैसा रहेको थियो। अहिले सटही दर ५.१७ प्रतिशतले बढेर एक सय ३९ रूपैयाँ ६२ पैसा छ। (विभिन्न एजेन्सीको सहयोगमा)