चालु आर्थिक वर्ष २०८१–८२ को ६ महिना (साउनदेखि पुस)सम्म मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ४९ अर्बले धेरै भएको छ।
२०८०–८१ को ६ महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ७३ अर्बले धेरै थियो।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।
आर्थिक वर्ष २०७८–७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ।
यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो।
आयात सामान्य बढेपनि चालु खाता एक खर्ब ४८ अर्ब रूपैयाँ नाफामै रहेको छ। गत आर्थिक वर्षको यो अवधिमा भने नाफा एक खर्ब ६२ अर्ब रूपैयाँ थियो।
वार्षिक आधारमा सात वर्षपछि गत आर्थिक वर्षबाट मुलुकको चालु खाता नाफामा देखिएको थियो। यस्तो खाता आर्थिक वर्ष २०७३–७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।
चालु आर्थिक वर्षको छैठौं महिना पनि यसले निरन्तरता पाइरहेको छ।