नेपाल भ्रमणमा आउने १० मुलुकका पर्यटकले नेपाल पेको क्युआर मार्फत यहाँ भुक्तानी गर्न सक्ने भएका छन्।
चीन, दक्षिण पूर्वी एसिया र अफ्रिका लगायतका मुलुकहरूका १४ इ वालेट र मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले नेपाल भ्रमणमा रहँदा यसरी भुक्तानी गर्न सक्ने नेपाल क्लियरिङ हाउसले उल्लेख गरेको छ।
नेपाल पे र स्मार्ट पे 'इन्टरअपरेबल' भएकोले पर्यटकहरूले समेत नेपालमा रहँदा दुवै प्रणालीबाट भुक्तानी गर्न सकिने अवस्था रहेको नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले उल्लेख गरेको छ। नेपाल पे क्युआरको सञ्चालन एनसिएचएलले गरिरहेको छ।
यहाँका बिक्रेता (मर्चेन्ट)हरूले यो सेवा ग्राहकलाई उपलब्ध गराउँदा थप शुल्क लाग्दैन। हाल नेपालमा आठ लाखले नेपाल पे प्रयोग गरिरहेका छन्। बैंकहरूको सात सय ५३ स्थानीय तहमा पहुँच विस्तार भएकोले नेपाल पेको प्रयोग यहाँ भ्रमणमा आउनेले जहाँबाट पनि गर्न सक्ने अवस्था छ।
मर्चेन्टहरूको लागि नेपाल पेले छुट्टै बिजनेस एप विकास गरेको छ। यसले गर्दा पर्यटकहरूबाट हुनसक्ने भुक्तानीको तत्काल जानकारी यही एपमार्फत् बिक्रेताले प्राप्त गर्न सक्छन्।
यसले भुक्तानीको एसएमएस मार्फत् जानकारी ढिलो आउँदा पर्यटकलाई पखाई रहन पर्ने अवस्था नआउने समेत एनसिएचएलले दाबी गरेको छ।
यो सेवाको सुरूवातसँगै अब पर्यटकलाई आफूसँग रहेको विदेशी मुद्रा साटिरहनु पर्ने वा नगदै रकम बोकेर यात्रामा निस्कनु पर्ने बाध्यता हटेको छ।
यसले उनीहरूको खर्चमा बढोत्तरी हुनसक्ने सम्भावना समेत रहने मानिएको छ।
पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्ने भएकोले यसले स्थानीय व्यापारीको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्ने र उनीहरूको व्यापारमा विस्तार हुनसक्ने सम्भावना समेत रहेको छ। नेपाली अर्थतन्त्रलाई डिजिटल्ली लैजान सहज हुने विश्वास गरिएको छ।
पर्यटन नेपालको अर्थतन्त्रको एउटा मुख्य आधारमध्ये रहेकोले यो सेवाको सुरूवातसँगै यसले पर्यटन क्षेत्रलाई थप आकर्षित गर्ने सम्भावना एनसिएचएलले उल्लेख गरेको छ।
हाल नेपालमा वार्षिक ११ लाख ४७ हजार पर्यटक आउने गरेका छन् भने पर्यटन क्षेत्रबाट वार्षिक ८२ अर्ब रूपैयाँ भित्रिने गरेको छ।
पर्यटन विभागको तथ्यांक अनुसार नेपाल पे मार्फत् भुक्तानी गर्न सकिने राष्ट्रमध्ये चीन, हङकङ, दक्षिण कोरिया, म्यानमार, मलेसिया, इटाली, थाइल्याण्डबाट मात्रै सन् २०२४ मा दुई लाख १८ हजार मानिसले नेपाल भ्रमण गरेका छन्।
नेपाल पेले ल्याएको अन्तरदेशीय भुक्तानीबाट यी पर्यटकले लाभ लिन सक्ने देखिन्छ।
यी वालेटबाट भुक्तानी गर्न सकिन्छः
चीनको अलिपे
हङकङको अलिपे एचके
इटालीको तिनाबा
मकाओको एमपे
मलेसियाको टच एण्ड गो इ वालेट, माइपिबी
मन्गोलियाको हाइपे
फिलिपिन्सको जी क्यास
थाइल्याण्डको ट्रु मनी
सिंगापुरको छान्जी पे र ओसिबिसी डिजिटल
दक्षिण कोरियाको ककाओ पे, नेभर पे र टस पे