क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री खुला गरिरहेको छ।
कम्पनीको आइपिओमा हालसम्म सात करोड ६९ लाख २५ हजार रूपैयाँ बराबरको सात लाख ६९ हजार २५० कित्ताको लागि आवेदन परेको छ।
सिडिएस एण्ड क्लियरिङका अनुसार आज (बिहीबार) दिउँसो १ बजेसम्म २७ हजार २५४ जनाले आवेदन दिएका छन्।
यो आवेदन मागभन्दा ३.४१ गुणा बढी हो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत अर्थात् २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
माघ २९ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ डबल बी' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।