सेयर बजारमा अन्तिम समयमा कम्पनीको मूल्य बढाएर चलखेल गर्ने प्रवृत्तिलाई रोक्नु पर्ने माग उठ्न थालेसँगै धितोपत्र बोर्डमा पनि अन्तिम मूल्य तोक्ने विषयमा छलफल हुन थालेको छ।
अन्तिममा समय बढाउँदा ठूला लगानीकर्तालाई दुई तरिकाले फाइदा पुग्छ।
एउटा, सेयर धितो कर्जा लिएकाहरूले मार्जिन (धितो)थप्न नपर्ने हुनसक्छ भने अर्को दिनको कारोबारमा मूल्य बढ्दा आफूसँग यसअघि नै रहेको सोही कम्पनीको सेयर बिक्री गरेर नाफा निकाल्न सक्छन्।
किनभने भालिपल्टको कारोबारमा अघिल्लो दिनको अन्तिम मूल्यको दुई प्रतिशतसम्म घटबढ हुने गरेर कारोबार गर्न पाइने व्यवस्था नेपाल स्टक एक्सचेन्जको प्रणालीमा छ।
सेयर खातामा भएको यो विशेषताबाट फाइदा लिन्छन् ठूला लगानीकर्ता
नेपालमा अहिले सेयर बजार बन्द हुँदाको कम्पनीहरूको मूल्यलाई नै सो दिनको अन्तिम मूल्यको रूपमै लिइने गरिएको छ। तर, विभिन्न मुलुकमा भने अलग अभ्यास छ।
छिमेकी राष्ट्र भारतकै उदाहरण लिन सकिन्छ। भारतका दुई ठूला स्टक एक्सचेन्ज बम्बे स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्जको उदाहरण हेर्ने हो भने फरक अभ्यास रहेको देखिन्छ।
उनीहरूले बजारको नियमित कारोबार समयको अन्तिम ३० मिनेटभित्रमा हुने कारोबारको आधारमा कम्पनीहरूको औसत मूल्य निकाल्छन्। यही अन्तिम मूल्य मानिन्छ।
भारतमा बिहान ९ बजेदेखि ४ बजेसम्म सेयर कारोबारको लागि बजार खुल्छ।
तर, फरक–फरक तरिकाले कारोबार गर्न सकिने गरेर यो अवधिलाई त्यहाँ विभिन्न भागमा बाडिएको छ।
बिहान ९ बजेदेखि ९ बजेर १५ मिनेटको समयलाई प्रिओपन, ९ बजेर १५ देखि ३ बजेर ३० मिनेटसम्मको कारोबारलाई नियमित सेयन र ३ बजेर ४० मिनेटदेखि चार बजेको समयलाई पोस्ट क्लोजिङ सेसन मानिन्छ।
अन्तिम मूल्य लिँदा भने ३ बजेदेखि ३ बजेर ३० मिनेट जाँदा हुने कम्पनीहरूको कारोबार परिमाण र मूल्यलाई लिइन्छ। ती अन्तिम समयमा कारोबार भएको सेयर संख्या र मूल्यको आधार औसत मूल्य निकालेर अन्तिम मूल्य तोक्ने गर्छ।
उदाहरणको लागि कुनै कम्पनीको अन्तिम समयमा तीन वटा कारोबार भयो। पहिलो कारोबारमा १० कित्ता सेयर दुई सय ३१ भारुमा कारोबार भयो। दोस्रो पटक, दुई सय २९ भारुको दरमा एक सय कित्ता सेयर किनबेच भयो।
तेस्रो पटक, दुई सय ३३ भारुमा ४० कित्ता सेयर कारोबार भयो। यो तीन पटकको कारोबारमा औसत मूल्य दुई सय ३० भारु हुन्छ। यसैलाई अन्तिम मूल्य मान्ने गरिएको छ।
नेपालमा पनि यसरी नै अन्तिम मूल्य तोक्न सकिन्छ कि भनेर छलफल हुन थालेको छ।
'कुराकानीमा यो विषय उठ्ने गरेको छ,' धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले भने, 'तर, औपचारिक रूपमा भन्नु पर्ने गरेर कुनै पनि निर्णय भएका भने छैनन्।'