तीन दिनदेखि नेप्से परिसूचक लगातार घट्दो क्रममा छ।
तर, जलविद्युत समूहको परिसूचकमा भने दुई दिनदेखि सुधार देखिएको छ।
यो दुई दिनमा नेप्से करिब ३२ अंकले घट्दा जलविद्युत समूहको परिसूचक भने करिब ३१ अंकले नै बढेको छ। यो समूहमा लगानी पनि बढिरहेको देखिन्छ। दुई दिनयता यी कम्पनीहरूको सेयर कारोबार क्रमशः १३ प्रतिशत र १५ प्रतिशतको दरमा बढेको छ।
गत बिहीबार तीन अर्ब ३१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार तीन अर्ब ८३ करोड र सोमबार चार अर्ब ३४ करोड रूपैयाँको सेयर कारोबार भएको हो।
सोमबार बजारमा कारोबार भएकामध्ये सबैभन्दा धेरैले मूल्य बढ्नेमा पनि हाइड्रो कम्पनी नै रह्यो। न्यादी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर ६ सय ४३ मा कारोबार भएको छ।
बजार घट्दा हाइड्रोपावरमा किन लगानीकर्ता झुम्मिएका छन् त?
ब्रोकरहरूका अनुसार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिनुमा विभिन्न कारण छ।
घट्दो ब्याजदर
यी कम्पनीहरूको विद्युत बिक्रीबाट हुने आम्दानीको अनुमान लगाउन सकिन्छ। किनभने यी आयोजनाको उत्पादन क्षमता निश्चित हुन्छ भने विद्युत प्राधिकरणले यी आयोजनाबाट विद्युत किन्दाको दर परिवर्तन हुँदैन। प्राधिकरणले हिउँदको लागि र वर्षाको लागि भनेर पहिले नै निश्चित दरहरूमा विद्युत खरिद सम्झौता गरेको हुन्छ।
तर, अन्य आम्दानीले पनि कम्पनीको नाफा बढ्न सहयोग पुग्न सक्छ। विशेष गरेर जलविद्युत कम्पनीहरूले आयोजना निर्माणको क्रममा बैंकबाट ऋण लिएका हुन्छन्। जलविद्युत आयोजनाहरूमा धेरैले ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत सर्वसाधारणमा सेयर जारी गरेर पुँजी जुटाएका हुन्छन्।
ब्याजदर घट्दै जाँदा यसको जलविद्युत कम्पनीहरूले बैंकलाई तिनुपर्ने रकम पनि घट्दै जान्छ। यसले गर्दा उनीहरूको आम्दानी बढ्न सहयोग पुग्छ। कुनै समय बैंकहरूले कर्जामा औसत १३ प्रतिशतभन्दा बढी ब्याज लिइरहेकोमा अहिले यो दर घटेर एकल अंकमा आएको छ। सरदर ९ प्रतिशत हाराहारी छ।
नीतिगत स्थिरता
सेयर बजारमा सूचीकृत अन्य समूहको तुलनामा यो क्षेत्रमा नीतिगत स्थिरता हुने गर्छ। बैंक तथा वित्तीय संस्थाहरूको जस्तो प्रत्यक्ष नियामक नहुनु र मौद्रिक अवस्था अनुसार नीतिहरू परिवर्तन भइरहने जस्ता समस्या जलविद्युतमा नहुने भएकोले आकर्षण रहेको ब्रोकरहरू बताउँछन्।
उच्च घटबढ हुने सेयर
सेयर बजारमा जलविद्युत क्षेत्र उच्च घटबढ (भोलाटाइल) हुनेमा पर्छ। यी कम्पनीहरूको चुक्ता पुँजी कम हुने भएकोले पनि केही समूह नै लागेर यस्ता कम्पनीको सेयर उचाल्न सम्भव हुने गरेको छ।
अहिले बजार न्यून विन्दुमा रहँदा यी कम्पनीका सेयर पनि घटेको छ। अहिले यी कम्पनीको सेयर किन्न सक्दा केही समयपछि बजार बढेमा राम्रो लाभ हुन सक्ने अनुमानमा पनि लगानी बढेको हो।
तर, यस्ता उच्च उतारचढाव हुने कम्पनीमा कमाउँदा धेरै कमाइने मात्रै हुँदैन गुम्दा पनि उच्च नोक्सान हुनसक्छ।
यी समूहमा रहेका धेरैजसो कम्पनी नोक्सानमा रहेका छन्। कतिपयले वर्षौदेखि लाभांश नै दिन नसकेका अवस्था समेत छ। त्यसैले लगानी गर्दा यी पक्षमा भने लगानीकर्ताले ध्यान दिनुपर्ने हुन्छ।
हकप्रद निकाल्ने तयारी
पछिल्लो समय केही जलविद्युत कम्पनी हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड समेत पुगेका छन्।
यी कम्पनीमा सेयर स्वामित्व हुनेले बजार मूल्यभन्दा कममा हकप्रद सेयर भर्न पाउँछन्।
बाराही हाइड्रो, शिवश्री हाइड्रो, रिभर फल्स, छ्याङ्दी, बरुण, लगायतका ११ हाइड्रोपावर कम्पनीले हकप्रद अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन्।