अहिले पनि कतिपय लगानीकर्ताहरूले आफूले कारोबार गरिरहेको ब्रोकरले समयमा रकम भुक्तानी नदिने गरेको, आफूले सहयोग नपाइरहेको गुनासो गरिरहेका पाइन्छन्।
त्यसो भए के आफूले कुनै ब्रोकरकोमा खोलेको सेयर रहने खाता (डिम्याट एकाउन्ट) र कारोबार खाता (टिएमएस) अर्कोमा सार्न मिल्छ?
'केही प्रक्रिया पूरा गरेपछि यी दुवै खाता अर्कोमा सार्न वा भएको खाता बन्द गरेर नयाँ खाता खोल्न मिल्छ,' सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले भने।
सेयर रहने खाता सार्नु परेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमा पाइने फारम भर्नुपर्छ।
यस्तो फारमलाई बिओ टु बिओ ट्रान्सफर फारम भनिन्छ। यो फारममा ग्राहकको डिम्याट एकाउन्ट नम्बर, नागरिकता सम्बन्धी जानकारी, बुबा, आमा, वा श्रीमान श्रीमतीको नाम, आफ्नो खातामा रहेको सेयर लगायतको विवरण भर्नुपर्छ।
सेयर विवरण ठिक रहे/नरहेको अहिले खाता रहेको ब्रोकरले फारममै रुजु गरिदिन्छ। र, ग्राहकले खाता सार्न सक्ने गरी स्वीकृति दिएको हुन्छ। सो ब्रोकरको कार्यालयको छाप (स्ट्याम्प) लगाइदिन्छ।
यो फारम भरेपछि यो जानकारी ब्रोकरले सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पठाउँछ। र, सिडिएसले नयाँ खाता खोल्न लागिएको ब्रोकरकोमा रहने आफ्नो खातामा पुरानो खाताबाट सेयर सारिदिन्छ।
यस्तो खाता बैंकका सहायक कम्पनी मर्चेन्ट बैंकरहरूले समेत खोल्ने भएकोले त्यहाँबाट खाता सार्दा पनि यही प्रक्रिया अपनाउन सकिन्छ।
सेयर कारोबारको लागि खोलिने खाता (टिएमएस एकाउन्ट) परिवर्तन गर्न झनै सजिलो छ। यसको लागि ग्राहकले नयाँ ब्रोकरकोमा गएर नयाँ खाता सजिलै खोल्न सक्छ। र, पुरानो खता बन्द गरिदिन ब्रोकरलाई मेलबाट चिठ्ठी पठाउन सक्छ।
सेयर कारोबारको लागि यस्तो खातामा सेयर नरहनसक्ने भए पनि कारोबार गर्नको लागि लोड गरिएको रकम भने हुनसक्छ। यस्तो रकम समेत ग्राहकले खाता बन्द गर्न गरिएको पत्राचारको क्रममै रकम फिर्ता गर्ने अनुरोध समेत पठाउन सक्छ।
'खाता बन्द गर्न पर्दा मात्रै होइन,' ब्रोकर भरत रानाभाटले भने, 'खाता चालु रहेकै अवस्थामा पनि लोड गरेको रकमबाट अहिले सेयर किन्नु छैन भने लगानीकर्ताले आफूले हालेको रकम फिर्ता माग्न सक्छ।'
अहिले लगानीकर्ताहरूले आफूले सेयर किन्नुपर्ने भएमा किन्न लागिएको रकमको २५ प्रतिशत रकम टिएमएस खातामा लोड गर्नुपर्छ। यस अनुसार ब्रोकरले बाँकी ७५ प्रतिशतसम्म रकम देखिने र सोही अनुसार कारोबार गर्न सक्ने गरेर व्यवस्था मिलाइदिएको हुन्छ।
सबै रकमको कारोबार गरेको अवस्थामा लगानीकर्ताले कारोबारपछिको तेस्रो दिनसम्म बाँकी रकम ब्रोकरलाई भुक्तानी गर्नुपर्ने नियम छ।