साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से ११.१० अंकले घटेर २६५४.३५ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् बुधबार नौ अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ८५ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ३५ करोड रूपैयाँ कमी आएको हो।
आज ३१८ वटा धितोपत्रको १ करोड ५१ लाख चार हजार ३३ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० वटाको घटेको छ। यस्तै सात कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
बिहीबार सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतका दरले घटेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः मूल्य एक हजार २४७ रूपैयाँ ४० पैसा र ९७९ रूपैयाँ २० पैसा कायम भएको छ।
बिहीबार सप्तकोशी डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५०० रूपैयाँमा ३० करोड ८९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.८९ प्रतिशतले बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २१० रूपैयाँमा २१ करोड ३८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले घटेको छ।