स्प्रेडदर (निक्षेप र कर्जा ब्याज अन्तर) घटाएर पनि कर्जा लगानी गर्न गाह्रो भइरहेकोले बैंकलाई नै सहयोग चाहिने अवस्था आएको बैंकरहरूले बताएका छन्।
नेपाल बैंकर्स संघले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएको हो।
'अहिले कम स्प्रेडदरमा पनि काम गर्न सकिरहेका छैनौं,' संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, 'अहिले बैंकलाई नै सहयोग चाहिने अवस्था आएको छ।'
कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संघका उपाध्यक्ष सुरेन्द्र राज रेग्मीले पुँजी कोष व्यवस्थामा राष्ट्र बैंकले लचिलो नीति लिनुपर्ने बताए।
'अहिले पनि अन्तर्राष्ट्रिय बैंकहरूकोभन्दा हामीले २ देखि ३ प्रतिशत बढी पुँजी कोष अनुपात राखिरहेका छौं,' रेग्मीले भने, 'अहिलेको जटिल अवस्थामा यसमा लचिलो भइदिनु पर्छ।'
उनले बैंकहरूको खराब कर्जा ४ प्रतिशत माथि भए पनि खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम भएकोले आत्तिन पर्ने अवस्था नरहेको पनि बताए।
बैंकहरूबाट कर्जा लगानी बढ्न नसकिरहँदा पुस एक महिनामा मात्रै ९४ अर्ब रूपैयाँले कर्जा बढेको छ। तर, माघ पहिलो साता आइपुग्दा नै यस्तो रकम २० अर्बले घटेको छ।
ब्याज रिकभर गर्ने चेकिङ एकाउन्टको रकम रिभल्भिङ लाइन अफ क्रेडिटको रूपमा राख्न सकिने व्यवस्थाले गर्दा पनि अन्तिम समयमा यस्तो कर्जा बढ्ने गरेको रेग्मीले बताए।
कार्यक्रममा संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पछिल्लो समय कर्जा असुलीको लागि जाने बैंकका कर्मचारीहरू माथि केही समूहले हातपात गर्ने गरेको तर स्थानीय तहबाट सुरक्षा तथा सहयोग नपाइरहेको गुनासो गरेका छन्।