मंगलबार पनि नेप्से परिसूचक बढेको छ।
आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो।
नेप्से ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात् सोमबार ६ अर्ब ५७ करोडको सेयर कारोबार भएकोमा मंगलबार ६ अर्ब १९ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३८ करोड रूपैयाँ कमी आएको हो।
आज ३११ वटा धितोपत्रको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, सप्तकोशी डेभलपमेन्टको मूल्य ८.०६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २७३ रूपैयाँ पुगेको छ।
मंगलबार रिभर फल्स पावरको मूल्य सबैभन्दा बढी ८.९६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २०९ रूपैयाँ कायम भएको छ।
यस्तै, ११% एलबिबिएल डिबेन्चरको मूल्य ७.१२ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ८२ रूपैयाँमा झरेको छ।
मंगलबार सिइडिबी होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ७७५ रूपैयाँमा २३ करोड ७६ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार २७३ रूपैयाँमा २१ करोड ६६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको बढेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको छ।