डलरको तुलनामा आफ्नो मुद्रा अवमूल्यन भएपछि भारतले मुलुकबाहिर भारतीय मुद्रामै कारोबार र लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले विदेशी मुद्रा व्यवस्थापन सम्बन्धी ऐन, नियम संशोधन गर्दै सीमा पारको कारोबारमा यस्तो व्यवस्था गरेको हो।
पछिल्लो समयमा डलरको मूल्य र कच्चा तेलको मूल्य बढिरहेको छ। चिनियाँ मुद्रा पनि अवमूल्यन भइरहेको छ। यी कारण भारूमा दबाब बढ्दै गएकोले यस्तो व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
अब भारत बाहिर रहेर विदेशी मुद्राको कारोबार गर्न सक्ने भारतीय बैंकहरूले भारतीय मुद्रा रहने गरेरै व्यक्तिगत खाता खोल्न सक्ने भएका हुन्।
भारतबाहिरका निर्यातकर्ताहरूले समेत यस्तो खाता खोल्न सक्ने छन्।
भारतीय मुद्रामा वैदेशिक व्यापारलाई सहयोग पुगोस् भन्ने उद्देश्यले भारतले संयुक्त अरब इमिरेट्स, इण्डोनेसिया र मालदिभ्सका केन्द्रीय बैंकहरूसँग सम्झौता समेत गरिसकेको छ।
यसरी भारतबाहिर भारू रहने गरेर खोलिएका खातामा भएको रकमबाट भारतभित्र प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत लगानी गर्न र गैर ऋणपत्र (सेयर, वैकल्पिक लगानी कोष, रियल स्टेट लगानी कोष लगायत) मा समेत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।