फाइनान्सका लगानीकर्ताहरू आत्तिदा घट्दो क्रममा रहेको सेयर बजारलाई थप प्रभाव पारेको छ।
बिहीबार नेप्से ७.३३ अंकले घटेको छ। फाइनान्स कम्पनीहरूको सूचक भने पाँच प्रतिशत (१४४ अंक)ले घटेको छ।
पछिल्लो केही समयदेखि राष्ट्र बैंकले फाइनान्स कम्पनीहरूको निगरानी बढाएको खबर आइरहेको छ।
केही समयअघि मात्रै राष्ट्र बैंकको सञ्चालक समितिले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ।
यही कारणले फाइनान्स कम्पनीहरूको सेयर मूल्यमा प्रभाव देखिएको छ। बिहीबार सूचीकृत सबै १५ वटा फाइनान्सको मूल्य घटेको छ।
पोखरा फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर सर्किट लागेको छ।
एक महिनाको अवधिमा यो क्षेत्रका लगानीकर्ताहरूको सम्पत्ति १५ अर्ब रूपैयाँले घटेको छ।
मंसिर अन्त्यमा यो समूहको कुल बजार पुँजीकरण एक खर्ब पाँच अर्ब रूपैयाँ रहेकोमा बुधबारसम्ममा यस्तो कुल बजार पुँजीकरण ९० अर्ब १० करोडमा सीमित भएको छ।
बिहीबार यो समूहमा उच्च गिरावट भएकोले लगानीकर्ताको यस्तो सम्पत्तिमा थप ह्रास भएको देखिन्छ।