अन्य क्षेत्रबाट कर्जाको माग बढ्न नसक्दा यसको लाभ सेयर धितोमा कर्जा लिनेले पाइरहेका थिए।
राष्ट्र बैंकको पाँच महिना (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार असारयता निजी क्षेत्रमा गएको कर्जाको वृद्धिदर मात्रै ३.५ प्रतिशत छ। गत असार अन्त्यमा ५० खर्ब रूपैयाँ बराबरको कर्जा (सावाँ रकम) गइरहेकोमा मंसिर अन्त्यसम्ममा ५२ खर्ब रूपैयाँ बराबर कर्जा गइरहेको छ।
यही पाँच महिनाको अवधिमा भने सेयर धितो कर्जा र आयातमा आधारित कर्जा सबैभन्दा धेरै वृद्धि हुनेमा छन्।
बैंकहरूको प्रडक्ट अनुसार गरिएको वर्गीकरणको आधारमा यी क्षेत्रमा सबैभन्दा धेरैले कर्जा वृद्धि भएको हो। यो पाँच महिनामा आयातमा आधारित कर्जा ४७.३ प्रतिशतले बढेर एक खर्ब २१ अर्बमा सीमित भएको छ।
सेयर धितोमा जाने कर्जा १९.८ प्रतिशतले बढेर १९.८ प्रतिशतले बढेर एक खर्ब सात अर्ब पुगेको छ।
पाँच महिनाको अवधिमा एक करोडदेखि माथि रकमको सेयर धितो कर्जा जाने दर २७.३ प्रतिशतले बढेको छ।
५० लाखदेखि एक करोडसम्मको यस्तो कर्जा ११.३ प्रतिशतले, २५ लाखदेखि ५० लाखसम्मको कर्जा ५.९ प्रतिशतले र २५ लाखभन्दा कमको यस्तो कर्जा ४.६ प्रतिशतले बढेको छ।
यसरी हेर्दा सेयर धितोमा जाने कर्जाको वृद्धिदर उच्च नै देखिन्छ।
तर, मासिक आधारमा हेर्ने हो भने सेयर धितोमा जाने कर्जाको वृद्धिदर सुस्तिँदै गएको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार सेयर धितोमा जाने कर्जा साउनमा एक अर्ब ३५ करोडले बढेको थियो। भदौमा यस्तो कर्जा आठ अर्ब ३० करोडले, असोजमा ६ अर्ब सात करोडले र कात्तिकमा एक अर्ब ९४ करोड रूपैयाँले बढेको थियो।
मंसिरमा भने यस्तो कर्जा मात्रै १७ करोड रूपैयाँले बढेको छ।
सेयर बजार बढ्न नसक्दा र आगामी दिनका बजारको अवस्था के होला भन्ने अनिश्चयले पनि यस्तो कर्जा लिने घट्न थालेको हुनसक्ने देखिन्छ।
'बैंकहरूले पछिल्लो केही महिनादेखि कर्जा लिने लगानीकर्ता खोजिरहेकै छ,' एक ब्रोकरले भने, 'तर, यस्तो कर्जा लिने नै नभएकोले कर्जा नगएको हुनसक्छ।'
मंसिर २ गते बजार खुल्दा नेप्से परिसूचक २७ सय ४८ विन्दुमा थियो। मंसिर अन्त्यमा बजार २६७८ विन्दुमा आइपुगेको थियो। अहिले नेप्से परिसूचक २५८० विन्दुमा छ।
त्यस्तै, यसपटक सूचीकृत संस्थाहरूले लाभांश नै कम दिएको, लाभांश प्राप्त गर्ने अवधि पनि लगभग सकिएको र बैंकहरूको पुसमसान्तसम्मको वित्तीय विवरणमा खराब कर्जा बढेर आउने अनुमानले पनि बजार बढ्न सकिरहेको छैन।
'यस्तोमा अहिले कम पुँजीका कम्पनी उचालेर अलिअलि भए पनि नाफा कमाउने प्रवृत्ति बढेको छ,' ती ब्रोकरले भने,'यस्तो लगानीको लागि धेरैले आफ्नै पुँजी प्रयोग गरिरहेका हुन्छन्।'
यसअघि नै बैंकहरूबाट उच्च दरमा कर्जा लिइसकेकाले पनि बजारको दिशा स्पष्ट नहुँदासम्म धेरैले थप कर्जा लिने जाँगर चलाएका छैनन्।