एक पटक किनबेच भएको कर्जा फेरि पुरानै बैंकले किन्ने भए सो अवधिसम्मको लागि बैंकरूले त्यस्तो कर्जाको जोखिमभार २० प्रतिशत मात्रै माने पुग्ने भएको छ।
राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
पुनः आफैँले खरिद गर्ने शर्त सहित किनबेच भएको कर्जा पहिलेको बैंकले फेरि खरिद नगरून्जेलसम्म त्यस्तो कर्जा अहिले रहिरहेको बैंकले २० प्रतिशतमात्रै जोखिमभार मान्न पाउने भएको हो।
हालसम्म यस्तो जोखिमभार एक सय प्रतिशत रहँदै आएको छ।
जति जोखिम भार बढ्छ त्यति नै बैंकहरूको पुँजी कोषमा दबाब पर्दै जान्छ।
यसरी गणना हुने कुल जोखिम भार (सम्पत्ति)को आधारमा बैंकहरूको पुँजी कोष अनुपात कायम गरिएको हुन्छ।
अहिले बैंकहरूले जोखिम सम्पत्तिको आधारमा राख्नुपर्ने न्यूनतम पुँजी कोष अनुपात ८.५ प्रतिशत छ।