नेपाल क्लियरिङ हाउसले आर्थिक वर्ष २०८०/८१ को आफ्नो १३औं वार्षिक साधारण सभा सोमबार काठमाडाैंमा सम्पन्न गरेको छ।
बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
यसपछि एनसिएचएलको चुक्तापुँजी १ अर्ब २६ करोड ८२ लाख हुनेछ साथै बैठकले अधिकृत पुँजी वृद्धि गरी २ अर्ब २५ करोड पुर्याउन स्वीकृत गरेको छ।
कम्पनीले पुँजी वृद्धि मार्फत नेशनल पेमेन्ट स्विच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्नेछ।
आर्थिक वर्ष २०८०/८१ म कम्पनीबाट फर्छौट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ।
उक्त आर्थिक वर्षमा एनसिएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १५६ खर्ब बराबरको १२ करोड ६ लाख भुक्तानी कारोबारहरू राफसाफ भएको थियो।
बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू निर्विरोध रुपमा पुनः निर्वाचित गरेको छ।
वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसिएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उप–प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका प्रमुख सूचना प्रविधि सृजन मल्ल पुनः निर्वाचित भएका छन्।
एनसिएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १/१ जना रहेका छन्।
एनसिएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।