नेपाल भम्रणमा आउने पर्यटक, विद्यार्थी लगायतले भित्र्याउने रकमभन्दा यहाँबाट जानेले लैजाने रकम ४९ अर्बले धेरै देखिएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिना (साउनदेखि मंसिर) सम्मको तथ्यांकले यस्तो देखाएको हो।
नेपाल भ्रमणमा आउने पर्यटक, पढ्न र उपचारको लागि आउनेले ३५ अर्ब १८ करोड रूपैयाँ भित्र्याएका छन्। तर, यही अवधिमा यस्तै कामको लागि नेपालबाट ८५ अर्ब रूपैयाँ बाहिरिएको छ।
नेपालबाट वैदेशिक अध्ययनमा जानेको संख्या बढिरहेकोले पनि यसरी लैजाने रकम बढेको हो। त्यसबाहेक घुमफिरमा पनि नेपालीको खर्च बढेको छ।
यो अवधिमा नेपाल पढ्न आउनेले दुई अर्ब पाँच करोड भित्र्याएका छन् भने अध्ययनको लागि ४७ अर्ब बाहिरिएको छ।
शिक्षा र औषधोपचारबाहेक भ्रमणमा आउनेले ३२ अर्ब भित्र्याउँदा यहाँबाट यसको लागि ३५ अर्ब बाहिरिएको छ।
अहिले मुलुकको विदेशी मुद्रा सञ्चिति उच्च रहेकोले यो ठूलो कुरा भने नभएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ।
यो हालसम्मकै उच्च हो। हालै राष्ट्र बैंकले पनि विदेश भ्रमणमा जानेले साथमा लैजान सक्ने रकम १५ सय डलरबाट बढाएर २५ सय डलर पुर्याएको थियो।