'उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ–उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार' भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको समुद्घाटन गरे।
समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामीण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरूको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने सन्देश व्यक्त गरे।
आर्थिक एवं बैंकिङ गतिविधिहरुको विस्तारका लागि बाधक बनेका मौजुदा कानुनहरूको सुधारका लागि सरकार लागि परेको बताउँदै अब तथ्यांकमा भन्दा व्यवहारिकता र परिणामलाई मध्यनजर गरेर सरकार र समग्र निजी क्षेत्र हातेमालो गर्दै अगाडि जानुको विकल्प नभएको उनले बताए।
त्यसैगरी विशिष्ट अतिथिहरू उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय प्रा.डा. शिवराज अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका का.वा. अध्यक्ष वीरेन्द्र प्रसाद पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले शुभकामना मन्तव्य राख्दै उपयुक्त नीति र वातावरणको सृजना, कर्जा/लगानी विस्तारमा सहजीकरण, बैंकिङ पहुँच र सर्वसुलभ बैंकिङ सेवाको विस्तार तथा सुस्ताएका समग्र आर्थिक एवं बैंकिङ गतिविधिहरूलाई चलायमान बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका लागि साधारण सभाले स्पष्ट कार्यदिशासहितको भूमिका सिबिफिनले निर्वाह गर्नेमा आशावादी रहेको बताए।
उद्घाटन समारोहमा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताए।
बैंकिङ क्षेत्रले गरेका महत्वपूर्ण योगदानहरूको कदरसहित यस क्षेत्रलाई कहिकतैबाट प्रोत्साहन र हौसला नमिलेको धारणा व्यक्तगदै अध्यक्ष पौडेलले उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी भएन भन्ने गुनासोलाई बैंक तथा वित्तीय संस्थाहरुले गहिरोरूपमा चिन्तनमनन गरिरहेको समेत उनको भनाइ थियो।
उक्त साधारण सभाले नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ।
सिबिफिनको विधानानुसार वाणिज्य बैंककोतर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंककोतर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीकोतर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।
नवनिर्वाचित पदाधिकारीहरूमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल अध्यक्ष, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव, एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, शाइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव,गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष र कार्यकारी सदस्यहरूमा प्रभु बैकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आइएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंक लि.का अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका संचालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन निर्वाचित भएका छन्।