तीन कारोबार दिनदेखि नेप्से परिसूचकले सरदर पाँच अंक जोडिरहेको छ, त्यो पनि कारोबारको अन्तिम समयमा । यसले बजार स्थिर अवस्थामा रहेको संकेत गर्छ।
'सातामा सार्वजनिक बिदा नभए पाँच दिन बजार खुल्छ,' ब्रोकर भरत रानाभाटले भने, 'बजार खुलेपछि लगानी गर्नेले गर्नैपर्यो। तर, अहिले लगानी गर्नेले दीर्घकालिन नभई अल्पकालीन लाभको लागि गरिरहेका छन्।'
बजारमा अहिले लाभांशको लागिभन्दा पनि मूल्य परिवर्तनबाट हुनसक्ने लाभकै लागि लगानी भइरहेको उनी बताउँछन्।
पछिल्लो समय सूचीकृत संस्थाहरूको लाभांश क्षमता घटेको छ। लाभांश घोषणा गरिसकेका कम्पनीहरूमा पनि करिब ४० वटाले मात्रै १० प्रतिशत माथिको लाभांश प्रस्ताव गरेका छन्। यसपटक धेरैले लाभांश नै दिएनन्। हाल बजारमा तीन सयभन्दा कम कम्पनी सूचीकृत छन्।
अहिले लाभांश घोषणा गरिसकेकाहरूबाट लाभांश प्राप्त गर्ने अवधि समेत सकिएको छ। लगभग सबै जसोको बुक क्लोज भइसकेको छ। करिब सात कम्पनीको मात्रै बुक क्लोज हुन बाँकी छ।
त्यसैले अहिले सेयर कारोबार लाभांशको लागि नभएर मूल्य परिवर्तनबाट लाभ लिन नै भइरहेको छ। तर, सुस्त आर्थिक गतिविधि, हालै उच्च मूल्य रहेको कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा हुनु जस्ता कारणले गर्दा बजारको दिशा स्पष्ट हुन सकेको छैन।
पुस मसान्तमा कर तिर्ने, सेयर धितो राखेर कर्जा लिएकाको मूल्य घटे मार्जिन बढाउन पर्ने लगायतको कारण पनि माघ नलागी बजारले स्पष्ट संकेत नदिने ब्रोकरहरू बताउँछन्।
माघ लागेपछि नै सूचीकृत कम्पनीहरूको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक हुनेछ। वाणिज्य बैंकहरूको दोस्रो त्रैमासमा खराब कर्जा थप बढ्न सक्ने आकलन भइरहेको छ। यस कारण पनि पुसमसान्तसम्म बजारको स्पष्ट दिशा पहिल्याउन नसकिने अवस्था छ।
हालै कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि लगानीकर्ताहरूमा त्रास बढेको थियो। खराब कर्जा बढेको, लाभांश नै दिन नसकेका भए पनि कम चुक्ता पुँजी रहेका कम्पनीहरूको सेयर मूल्य बढाउने प्रवृत्ति कायमै रहँदा कर्णाली समस्याग्रस्त भएपछि लगानीकर्ताहरूको आत्मविश्वास बढ्न सकेको छैन। यसलाई कारोबार रकमले पनि संकेत गरिरहेको छ।
'बजारमा कारोबारको पेस (गति) सुस्त छ,' अर्का ब्रोकर सन्तोष मैनालीले भने, 'जसलाई अहिले भइरहेको कारोबार रकमले पनि देखाउँछ।'
गत साउनबाट बजारमा दैनिक १० देखि २८ अर्ब रूपैयाँसम्म सेयर कारोबार भइरहेकोमा पुस लागेयता कारोबार रकम ६ अर्ब नाघ्न सकेको छैन।
अहिले जति कम्पनीको कारोबार बढेको छ, तिनको कारोबार पनि अल्पकालीन उद्देश्यले नै भइरहेको ब्रोकरहरू बताउँछन्।
'अहिले जति कम्पनीको कारोबार बढेको छ, तिनको वित्तीय विवरण हेरेर भइरहेको छैन, छोटो समयमा पैसा बन्न सक्छ कि भनेरै भइरहेको छ,' अर्का एक ब्रोकरले भने।
ती ब्रोकरको भनाइलाई पछिल्ला दिनका सर्वाधिक सेयर कारोबार हुने कम्पनीले पनि पुष्टि गरिरहेको छ।
गत सातादेखि जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार हुने कम्पनीमा पर्दै आएको छ। कम्पनीको पहिलो त्रैमास (गत साउनदेखि असोज) मा खराब कर्जा ३४ प्रतिशत बढी थियो।
लाभांश दिन नसकिरहेका र नोक्सानमा रहेका जलविद्युत कम्पनीहरूको समेत सेयर काराबोर बढिरहेको छ।
बजार घटेको समयमा यस्ता कम्पनीको पनि मूल्य घटेको र केही समयपछि यस्ता कम्पनीहरूको मूल्य बढाउने प्रवृत्ति दोहोरिन सक्ने आशंकामा पनि लगानी बढेको हो।