ग्लोबल आइएमई बैंकले १८औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ।
२०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औं वर्षमा प्रवेश गरेको छ।
बैंकले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।
'अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ। तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ। सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो,' उनले भने।
बैंकले स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको उनले बताए।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरूको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै मेहेनत र लगनशीलताले मात्र लक्ष्य प्राप्त हुने उनले बताए।
सम्पूर्ण कर्मचारीहरूको अथक मिहिनेत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरूलाई धन्यवाद प्रकट गरे।
१६६ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरूलाई सम्मान गरेको छ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरूलाई सम्मान गरे।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट सम्मानित बैंक हो।
साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ।
बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।