राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै बैंकको सेयर कारोबार पनि बिहीबारबाट रोक्का भएको छ।
तर, केही लगानीकर्ताहरू भने यसरी बैंकको सेयर कारोबार रोक्का गर्दा लगानीकर्ताहरूले बहिर्गमनको बाटो नपाएको बताउन थालेका छन्।
'कारोबार रोक्का राख्नु भनेको लगानीकर्ताहरूलाई 'एक्जिट' (बहिर्गमन) दिनु हो,' भारतमा रहेका सेयर लगानीकर्ता विष्णुप्रसाद बस्यालले सामाजिक सञ्जालमा लेखेका छन्, 'भारतको सत्यम कम्प्युटर र एस बैंकको सेयर कारोबार कुनै दिन रोकिएको थिएन।'
सन् २०२० मार्च ६ गते एस बैंकको सेयर अन्तर्दिनको कारोबारमा एकैदिन ८५ प्रतिशतले मूल्य घटेर ५.५५ भारुमा कारोबार भएको थियो। बजार बन्द हुँदा भने सो बैंकको सेयर मूल्य १६.२० भारुमा भएको थियो।
यो मात्रै पहिलो उदाहरण भने होइन, सन् २०१८ मा पनि दिवान हाउजिङ फाइनान्स ६० प्रतिशतसम्म र सन् २०१९ मा रिलायन्स कम्युनिकेसनमा ४८ प्रतिशतले मूल्य घटेको थियो।
बस्यालले यस्तै उदाहरण दिँदै बिना कानुनी आधार बैंकको कारोबार रोक्का गरिएको आरोप समेत लगाएका छन्।
तर, नेप्सेको नियम अनुसार नै बैंकको कारोबार रोक्का राखिएको नेप्सेका अधिकारीहरू बताउँछन्।
'यो हामीले बनाएको नियम होइन मन्त्रिपरिषदबाट पारित भएका नियमावली र विनियमावलीले गरेको व्यवस्था अनुसार नै कारोबार रोक्का गरिएको हो,' नेप्सेका ती अधिकारी भन्छन्।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को दफा १९ अनुसार धितोपत्र बोर्ड वा कुनै नियामक निकायले धितोपत्रको सूचीकरण खारेजी गर्न निर्देशन दिएमा सकिने व्यवस्था गरेको छ।
त्यस्तै, धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ अनुसार कुनै सूचीकृत संगठित संस्थाको धितोपत्रको बजार मूल्यमा अस्वाभाविक उतार–चढाव हुन सक्ने गरी काम कारबाही भएको देखिएमा नेप्सेले त्यस्तो संस्थाको धितोपत्रको कारोबारलाई बढीमा १५ दिनसम्मका लागि निलम्बन गर्न सक्नेछ।
नियामकले दिएको निर्देशन र बजार मूल्यमा अस्वाभाविक उतार–चढाव हुन सक्ने देखिएमा कारोबार रोक्न व्यवस्था अनुसार नै कारोबार रोक्का गरिएको नेप्सेले उल्लेख गरेको छ।
बुधबार धितोपत्र बोर्डले नेप्सेलाई बैंकको कारोबार रोक्न लिखित निर्देशन दिएको थियो। बोर्डले अर्को व्यवस्था नभएसम्मको लागि बैंकको कारोबार रोक्न निर्देशन दिएको हो।
भारत र नेपालको बजार उही स्तरको नभएकोले एउटै नीति नहुने पनि नेप्सेका अधिकारीहरू बताउँछन्।
एस बैंकको सन् २०२० को कारोबारको उदाहरण अनुसार त्यहाँको बजारमा एकैदिन सेयर मूल्य ८५ प्रतिशतसम्म घट्न सक्ने व्यवस्था रहेको देखिन्छ।
तर, नेपालमा लगानीकर्ताहरूको अवस्था, बुझाई लगायतलाई ध्यानमा राखेर कारोबारमा अस्वभाविक उतारचढाव आउन नदिन सर्किट ब्रेकरको व्यवस्था गरिएको छ।
कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशतभन्दा धेरैले घटबढ हुन नसक्ने गरी सर्किट ब्रेक लगाइने गरेको छ।
त्यस्तै, समग्र सेयर बजारमा समेत सर्किट ब्रेक लगाइने गरेको छ।
कारोबार सुरू भएको समय अनुसार ४ प्रतिशतदेखि ६ प्रतिशतसम्मको घटबढमा १५ मिनेटदेखि सो दिनको कारोबार नै रोक्का हुने गरेर सर्किट ब्रेक लगाइने गरिएको छ।
पछिल्लो समय खराब वित्तीय अवस्था रहे पनि कम चुक्तापुँजी रहेका कम्पनीहरूको कारोबार उच्च मूल्यमा हुने गरेको छ। केही समूह नै मिलेर सेयर थुपार्ने र महँगो मूल्यमा बेच्ने गर्दै आइएको छ।
राष्ट्र बैंकले यो बैंकलाई गत मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाही थालेको थियो। मंसिर ११ गते ८.४५ प्रतिशतले मूल्य घटेर सात सय ६९ रूपैयाँमा अन्तिम कारोबार भएको बैंकको भोलिपल्टै १० प्रतिशतले मूल्य बढेको थियो। मंसिर १२ गते कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर ८ सय ४५ रूपैयाँमा कारोबार भएको थियो।
यस बैंकमा पनि खेलाडीहरू पसेर अस्वाभाविक मूल्य उतारचढाव गर्न थालेको सोही कारोबारले प्रष्ट्याएको छ। यसअघि पनि एउटा वित्त कम्पनीको सेयर मूल्यमा यस्तै खेलोफड्को भएको थियो।
पहिलो त्रैमासमा दुई करोड रूपैयाँ नोक्सानमा रहेको १० प्रतिशत माथि खराब कर्जा रहेको सो कम्पनीको सेयर मूल्य बढाएर दुई हजार माथि पुर्याइएको थियो। अहिले कम्पनीको सेयर एक हजार रूपैयाँ आसपासमा कारोबार भइरहेको छ।
कर्णाली विकास बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणमा ७.२७ प्रतिशत खराब कर्जा रहेको उल्लेख गरेको थियो। समस्याग्रस्त घोषणा गर्ने समयमा यस बैंकको खराब कर्जा ४०.८५ प्रतिशत रहेको बताइएको छ।