कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि विकास बैंक र वित्त कम्पनी समूहगत परिसूचक उच्चले घटेका छन्। यी दुवै समूहगत परिसूचक दुई प्रतिशतभन्दा धेरैले घटेको छ।
खराब कर्जा उच्च रहेको यस बैंकको तरलतामा समस्या रहेको र भुक्तानी तथा बैंकमार्फत् हुने कारोबार राफसाफको लागि नेपाल क्लियरिङ हाउसमा राखिएको राफसाफ कोष सकिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो।
पछिल्लो समय कतिपय विकास बैंक र वित्त कम्पनीको खराब कर्जा उच्च दरमा बढेको कारण यस्ता कम्पनीमा लगानी गरेका लगानीकर्ताहरू पनि आत्तिएका हुन्। कतिपय कम्पनीहरूको खराब कर्जा ८६ प्रतिशतसम्म छ।
समस्याग्रस्त संस्थाहरू राष्ट्र बैंकले व्यवस्थापनमा लिएर सञ्चालन गर्ने प्रयास गर्छ। राष्ट्र बैंकले निक्षेपकर्ता र लगानीकर्ताहरू नआत्तिन समेत भनेको छ।
यसअघि पनि राष्ट्र बैंकले धेरै वित्त कम्पनीहरूलाई सुधारेर पुनः सञ्चालनमा ल्याएको थियो। समस्या पार नै नलाग्ने संस्थालाई भने खारेजीसम्म लैजान्छ।
यसैबीच बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार ५ अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३२ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १२ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१० वटा धितोपत्रको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफान्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः पाँच हजार ९३७ रूपैयाँ ४० र तीन हजार ९८५ रूपैयाँ ९० पैसा कायम भएको छ।
बिहीबार चार कम्पनीको मूल्य सर्किट लेभलमा घटेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतका दरले घटेको छ भने जोशी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले घटेको छ।
बिहीबार प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य २४४ रूपैयाँमा ५० करोड ७७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५.८६ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा जानकी फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९२६ रूपैयाँमा २२ करोड ३९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, लगानी, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशतले बढेको छ।
यो पनि:
१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च, एउटैको ३५ प्रतिशतसम्म