चालु आर्थिक वर्ष २०८१–८२ मा सरकारले कर्जा लगानी ६ खर्ब ८२ अर्ब रूपैयाँले बढ्ने लक्ष्य राखेको छ।
अहिले बैंकहरूमा उच्च तरलता र कर्जा लगानी योग्य रकम रहे पनि सरकारको लक्ष्य अनुसार नै कर्जा लगानी भइरहेको देखिएको छ।
अर्थमन्त्रालयले आन्तरिक प्रयोजनको लागि प्रकाशित गर्ने बजेट कार्यान्वयन कार्ययोजनामा राखिएको प्रक्षेपणले यस्तो देखाएको हो।
चालु आर्थिक वर्ष २०८१–८२ को कार्ययोजनामा बैंक तथा वित्तीय क्षेत्रबाट जाने कर्जा लगानी कात्तिकसम्ममा ५२ खर्ब ६८ अर्ब रूपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।
राष्ट्र बैंकले कात्तिकसम्मको तथ्यांक सार्वजनिक गरिसकेको छ। यस अनुसार बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रतर्फ गएको कर्जा ५२ खर्ब २ अर्ब रूपैयाँ पुगेको र उठ्न बाँकी ब्याज सहितको यस्तो रकम ५३ खर्ब ५६ अर्ब रूपैयाँ देखाएको छ।
राष्ट्र बैंकको वेबसाइटमा राखिएको दैनिक विवरण अनुसार पुस ६ गते बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ५३ खर्ब ३४ अर्ब रूपैयाँ छ।
बजेट कार्यान्वयन कार्ययोजनाले मंसिरसम्म कर्जा लगानी ५३ खर्ब २४ अर्ब रूपैयाँ र पुससम्ममा ५३ अर्ब ८० करोड पुग्ने उल्लेख गरेको छ। यसरी हेर्दा सरकारको प्रक्षेपण अनुसार नै कर्जा लगानी भइरहेको जस्तो देखिन्छ।
त्रैमासिक कर्जा लगानी अनुमान मिलिरहेको देखिए पनि अर्थमन्त्रालयले गरेको प्रक्षेपण रमाइलो किसिमको छ।
यो कार्ययोजनाले २०८१ साउनदेखि २०८२ जेठसम्म हरेक महिना ५६ अर्ब रूपैयाँकै दरमा कर्जा लगानी बढ्ने प्रक्षेपण गरेको छ। अन्तिम महिना असारमा भने ६६ अर्बले कर्जा लगानी बढ्ने प्रक्षेपण गरेको छ।
स्रोत : आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन कार्ययोजना
'हरेक महिना एकै दरमा कर्जा बढ्ने भन्ने त हुँदैन,' राष्ट्र बैंकका एक कार्यकारी निर्देशक भन्छन्, 'वृद्धिदरलाई औसतमा भाग लगाएकोले यस्तो देखिएको हुन सक्छ।'
कार्ययोजनाले लक्ष्य गरे अनुसार कुनै महिना अनुमान मिलेको जस्तो पनि देखिन्छ। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको गत मंसिरसम्मको तथ्यांक अनुसार गत भदौ र असोजमा यस्तो प्रक्षेपण हाराहारीमै कर्जा लगानी बढेको छ।
वाणिज्य बैंकहरूको मात्रै कर्जा लगानी देखाउने यो तथ्यांक अनुसार बैंकहरूबाट भएको कर्जा लगानी भदौमा ५३ अर्बले र असोजमा ५६ अर्बले वृद्धि भएको थियो। तर, गत साउनमा दुई अर्ब र मंसिरमा मात्रै ४२ अर्बले कर्जा बढेको थियो।
कात्तिकमा भने कर्जा लगानी दुई अर्बले घटेको थियो।
राष्ट्र बैंकको किन फरक प्रक्षेपण?
अर्थमन्त्रालयले गरेको कर्जा विस्तारको वार्षिक प्रक्षेपणभन्दा राष्ट्र बैंकले गरेको कर्जा विस्तार प्रक्षेपण फरक छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष अन्त्यसम्ममा कर्जा लगानी अधिकतम ६ खर्ब ५४ अर्ब ७५ करोड रूपैयाँले बढ्ने अनुमान गरेको छ।
'बजेट र मौद्रिक नीति आउने समयबीचको अन्तर एक महिनाभन्दा बढी भएको हुनाले पनि अनुमान फेरिएको हुनसक्छ,' राष्ट्र बैंकका ती कार्यकारी निर्देशकले भने, 'तर, यो अन्तर खासै धेरै पनि होइन।'
राष्ट्र बैंकले आर्थिक वृद्धि लक्ष्य र मूल्य वृद्धि लक्ष्यको आधारमा कर्जा विस्तार लक्ष्य राखेको हुन्छ।
सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतले मूल्य वृद्धि हुने प्रक्षेपण गरेको थियो।
यही आधारमा राष्ट्र बैंकले गत असारको तुलनामा वर्षअन्त्यमा कर्जा विस्तार ११.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो।
अहिले मुलुक भित्रिने रेमिटेन्स बढेको र आयातमा सुधार हुन नसकेको कारण बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको छ।
हाल बैंक तथा वित्तीय संस्थामा सात खर्ब हाराहारी कर्जा योग्य रकम छ।
राष्ट्र बैंकमा मात्रै बैंक तथा वित्तीय संस्थाहरूले राखेको रकम तीन खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ। मंसिर १९ गते जारी गरेको ५० अर्ब रूपैयाँ बराबरको निक्षेप संकलन पुस ९ गते परिपक्व हुँदैछ।
यही कारण पुस ९ गते नै राष्ट्र बैंकले ४० अर्ब बराबरको रकमको निक्षेप संकलन उपकरण जारी गरेर बैंकहरूबाट रकम तानेको छ।
बैंकमा निक्षेप बढे अनुसार कर्जाको माग बढ्न सकेको छैन। तर, राष्ट्र बैंक कर्जा विस्तार निराशाजनक अवस्थामै भने नपुगेको बताउँछ।
'माग नै नभएको समयमा समेत केही महिना छाडेर ५० अर्ब माथि कर्जा विस्तार हुनु भनेको राम्रै हो,' ती कार्यकारी निर्देशकले भने, 'आर्थिक क्रियाकलाप खुम्चिँदा पनि यतिको कर्जा गइरहेको छ भने क्रियाकलाप बढ्दा थप लगानी हुनेछ।'
सरकारी खर्चमा वृद्धि हुन सकेमा नै कर्जा विस्तार हुने ती अधिकारीको भनाइ छ।