नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरूले बिल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरूले २५ प्रतिशत छुट पाउने भएका छन्।
उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरे।
यसबाट बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्चस्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन्।