जिल्ला सरकारी वकिल कार्यालयले ज्ञानेन्द्रलाल प्रधानविरूद्ध दायर गरेको सम्पत्ति शुद्धीकरणको मुद्दाको मुख्य आधार जालसाजीयुक्त सेयर कारोबारलाई बनाइएको छ।
'नेपाल हाइड्रो डेभलपर्सको आफ्नो १६.८८ प्रतिशत हित नियन्त्रण रहेको सेयरलाई आफ्नो नाउँबाट सो अवधिमा बिक्री गर्न हुँदैन भन्ने जानीजानी परिवारका सदस्यलाई नामसारी गरेर बिक्रीबाट उच्च लाभ लिने मनसाय रहेको देखिन्छ,' कार्यालयले दायर गरेको अभियोग पत्रमा उल्लेख छ।
कार्यालयले प्रधानविरूद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग दायर गरेको हो।
प्रधानले २०७८ साउन १४ गतेदेखि २०७८ माघ २० गतेसम्म पटक–पटक गरेर पाँच लाख बढी कित्ता सेयर श्रीमती बिमला श्रेष्ठ, छोरा चेतन र छोरी निभिता प्रधानको नाममा नामसारी गरेका थिए।
तर, नामसारीलगत्तै ती सेयर दोस्रो बजारमा बिक्री समेत भएको थियो। यी सेयर दोस्रो बजारमा बिक्री हुँदा करिब २६ करोड ३३ लाख रूपैयाँ प्रधान परिवारले प्राप्त गरेको थियो।
प्रधानले २०७८ भदौ १३ गते कम्पनीको अध्यक्षबाट राजीनामा दिएका थिए। राजीनामा दिएपछि पनि उनले केही सेयर नामसारी गरेका थिए।
उनले सेयर नामसारी गर्नु दुई महिनाअघि कम्पनीको सेयर प्रत्तिकित्ता तीन सय ४० रूपैयाँमा कारोबार भइरहेकोमा मूल्य ६ सय रूपैयाँ माथि पुग्दा नामसारी गर्दै सेयर बिक्री गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा प्रधानले बयान दिएजस्तो घरायसी नामसारी मात्रै भए एकैपटक गर्न सक्ने अवस्थामा पनि किन ६ महिनाको अवधि लिएर पटक–पटक नामसारी गरे भनेर समेत कार्यालयले कारोबारमाथि प्रश्न उठाएको छ।
उनले भित्री सूचनाको आधारमा नै यसरी सेयर नामसारी गर्ने र सेयर बिक्री गराउने गरेको अभियोग पत्रमा उल्लेख छ।
अंशबण्डालाई आधार बनाएर प्रधानले प्रत्यक्ष रूपमा गर्न नहुने काम अप्रत्यक्ष रूपमा पनि गर्न हुँदैन भन्ने फौजदारी कानुन विपरीत समेत गरेको कार्यालयले अभियोग पत्रमा उल्लेख गरेको छ।
सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा रूपान्तरण गर्ने मनसायले अंशबण्डाको विधि अवलम्बन गरेको भन्दै उनलाई सम्पत्ति शुद्धीकरणको कसुर गरेको भन्दै कार्यालयले अभियोग दायर गरेको हो।
प्रधानले भने आफूले २०७६ चैत २६ मा नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएको भए पनि अन्य सञ्चालकहरू मुलुक बाहिर रहेको कारण राजीनामा सोही समयमा स्वीकृत नभएको अनुसन्धानको क्रममा बयान दिएका थिए।
उनले आफ्ना परिवारका सदस्यहरूको प्रयोग गरेर लाभा लिने उद्देश्यले सेयर बिक्री नगरेको र बिना मूल्य अंशबण्डा दिएको बयान दिएका थिए।
कार्यालयले प्रधान पत्नी तथा छोराछोरीलाई भने सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ।
त्यस्तै, सम्पत्ति शुद्धीकरणको कसुरमा प्रधानबाट काभ्रेमा रहेको जग्गाबाट दुई करोड ३७ लाख, मोदी इनर्जी र सुपरमादी हाइड्रोमा रहेको संस्थापक सेयरको हुने रकम २४ करोड चार लाख रूपैयाँबाट बिगो रकम जफत गर्न सकिने उल्लेख गरिएको छ।
प्रधानविरूद्ध २६ करोड ३९ लाख रूपैयाँ बिगो दाबी गर्दै कार्यालयले अभियोग दायर गरेको हो।