आयातमा सुधार नहुँदा र रेमिटेन्स बढ्दा मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
चालु आर्थिक वर्ष २०८१–८२ को चार महिना (साउनदेखि कात्तिकसम्म) विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १६ अर्ब ७० करोड डलर छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १५ महिना तीन दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
आयात ०.२ प्रतिशतले मात्रै बढेको छ। यो अवधिमा पाँच खर्ब १३ अर्ब रूपैयाँको आयात भएको हो।
अघिल्लो वर्षको यही अवधिमा पाँच खर्ब १२ अर्ब रूपैयाँको आयात भएको थियो। यो तीन महिनामा पाँच खर्ब २१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।