साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
आज नेप्से ४५.९३ अंकले घटेर २६८९ विन्दुमा बन्द भएको छ।
नेप्से १२ दिनपछि २७ सय विन्दु तल झरेको हो।
यसअघि गत मंसिर १० गते नेप्से २७०० विन्दुभन्दा तल बन्द भएको थियो। उक्त दिन नेप्से २६८३.२४ विन्दुमा बन्द भएको थियो।
यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार आठ अर्ब ३६ करोडको सेयर कारोबार भएकोमा आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँ कमी आएको हो।
आज ३२१ वटा धितोपत्रको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ वटाको घटेको छ। यस्तै तीन कम्पनीको स्थिर रहेको छ।
यसदिन खानीखोला हाइड्रोपावरको मूल्य सर्किट लेभलमा छ।
उक्त कम्पनीको मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४७१ रूपैयाँ ६० पैसा कायम भएको छ।
दोल्ती पावरको मूल्य ८.७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६५७ रूपैयाँ पुगेको छ।
यस्तै, मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले घटेको छ भने सामुदायिक लघुवित्तको मूल्य ९.९७ प्रतिशतले घटेको छ।
आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ११४ रूपैयाँ ८० पैसामा ३२ करोड ६४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार १९५ रूपैयाँ ४० पैसामा १५ करोड ६८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशतले घटेको छ।
दोस्रोमा व्यापार समूहको परिसूचक २.१३ प्रतिशतले घटेको छ।