जानकी फाइनान्सको सेयर सम्भवतः हालसम्मकै उच्च मूल्यमा किनबेच भइरहेको छ।
उपलब्ध तथ्यांक अनुसार कम्पनीको सेयर मूल्य २०७१ मंसिर यताकै उच्च हो। कम्पनीको आइतबार एक हजार ८३ रूपैयाँसम्मका सेयर कारोबार भयो।
नेप्सेकै तथ्यांक अनुसार एक वर्षभित्रमा कम्पनीको सेयर मूल्यले तीन सय १६ रूपैयाँ ७० पैसामा न्यूनतम र एक हजार ८३ रूपैयाँ ३० पैसामा उच्च तह बनाएको छ।
एक वर्षभित्रमै कम्पनीको सेयर मूल्यमा किन यत्रो उतारचढाव देखियो?
'अहिले जानकी फाइनान्सको मात्रै होइन समग्र फाइनान्स कम्पनीहरूकै सेयर मूल्य बढ्दो क्रममा छ,' एक ब्रोकरले भने, 'तर, यो स्वाभाविक वृद्धि होइन।'
जानकी फाइनान्सकै कुरा गर्ने हो भने कम्पनीको चुक्तापुँजी ६९ करोड रूपैयाँ छ। तर, कम्पनीसँग सञ्चित नोक्सान नै ६५ करोड २५ लाख रूपैयाँ छ।
कम्पनीको पहिलो त्रैमासमा नाफामा उच्च सुधार भयो। गत वर्षको पहिलो त्रैमासमा चार लाख रूपैयाँ नाफामा देखिएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ९० लाख रूपैयाँ नाफा गर्यो।
यसरी हेर्दा कम्पनीको नाफामा सुधार भइरहेको छ। तर, कम्पनीले अहिले गरिरहेको नाफाकै आधारमा पनि सञ्चित नोक्सानबाट नाफामा आउन कम्तीमा तीन वर्ष हाराहारी लाग्न सक्छ।
कम्पनीको वित्तीय अवस्थामा सुधार हुन समय लाग्ने अर्को सूचक खराब कर्जाले पनि देखाइरहेको छ। अहिले पनि कम्पनीको कुल कर्जामा खराब कर्जा ३४ प्रतिशत बराबर छ।
तीन अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरेको कम्पनीको करिब एक अर्ब बराबरकै रकम खराब भएको तथ्यांकले देखाउँछ।
अहिले कम्पनीको प्रतिसेयर आम्दानी ४० रूपैयाँ छ। तर, कम्पनीको प्रतिसेयर नेटवर्थ मात्रै ६७.९० रूपैयाँ छ।
यी सूचकले कम्पनीको अवस्थामा सुधार हुन निकै समय लाग्ने देखिइरहँदा पनि आकर्षण बढिरहेको देखिन्छ।
'कुनै कम्पनीको सेयर मूल्य बढाउन समूह सक्रिय छन् भन्ने हल्ला आउँदा साना र नबुझेका लगानीकर्ता मात्रै होइन अहिले बुझेकाहरूले पनि दाउ लगाए जसरी एक दुई हजार कित्ता सेयर किन्ने प्रवृत्ति देखिएको छ,' ती ब्रोकरले भने।
तर, बजार नबढेर केही घटे पनि ठूला लगानीकर्ता घाटा खाएरै बिक्री गर्न सक्ने क्षमताका हुने भए पनि साना भने पछिसम्म होल्ड गरिरहँदा फस्ने देखिएको उनी बताउँछन्।
केही समय अघि मात्रै पनि यस्तै प्रवृत्ति नेपाल फाइनान्सको सेयरमा देखियो। ७२ करोड रूपैयाँ चुक्ता पुँजी भएको यो कम्पनीको २५ करोड रूपैयाँ सञ्चित नोक्सानी छ। कम्पनीको खराब कर्जा पनि १० प्रतिशत माथि छ।
तर, कम्पनीको सेयर मूल्य वित्त कम्पनीहरूमै सबैभन्दा धेरै छ। हाल कम्पनीको सेयर एक हजार चार सय ५९ रूपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको सेयर मूल्य केही समयअघि दुई हजार ६ सय १४ रूपैयाँसम्म पुगेको थियो।
कम चुक्ता पुँजी भएको कारण केही समूह मिलेर यस्ता कम्पनीहरूको सेयर मूल्य बढाउन सकिने भएकोले पनि यी कम्पनीहरूको मूल्य अस्वाभाविक बढेको छ।