सेयर बजारमा लगानी गर्नेहरूको आ-आफ्नै रणनीति हुन्छ। त्यसैले समान अवस्थाका कम्पनीहरूको मूल्यबीच पनि अन्तर हुन्छ।
कसैले सेयर बिक्री गरिरहेको समयमा अर्को कसैले किनिरहेको हुन्छ। तर बजारमा केही प्राविधिक विश्लेषणका औजार पनि छन्। यिनले बजारको प्रवृत्ति बुझाउन केही सहयोग गर्छन्। पछिल्लो समय नेपालमा पनि प्राविधिक विश्लेषण पछ्याउने जमात बढेका छन्।
सेयर बजारमा प्रयोग हुने केही प्राविधिक विश्लेषण बुझेर लगानी गर्दा सहज हुन सक्छ।
कप विथ ह्याण्डल
अमेरिकन विश्लेषक विलियम जे ओ निलले सन् १९८४ मा कप विथ ह्याण्डल प्रवृत्तिको पहिलो पटक व्याख्या गरेका थिए। सन् १९८८ को ‘हाउ टु मेक मनी इन स्टक्स’ किताबमा पनि उनले यसबारे लेखेका छन्।
बजारको हरेक दिनको कारोबारका आधारमा बनाइने रेखाचित्रमा कप र त्यसको ह्याण्डल जस्तो आकृति देखा परेमा त्यसलाई कप विथ ह्याण्डल आकृति भनिन्छ।
पुरानो उचाइबाट बजार तलसम्म ओर्लिएर बढ्ने क्रममा यस्तो आकृति देखिन्छ। बढ्ने क्रममा पुरानो उचाइमा पुगेपछि बजार केही घट्छ र ह्याण्डल जस्तो आकृति बन्छ। ह्याण्डलको आकार भने धेरै लामो हुनु हुँदैन। अर्थात, धेरै लामो अवधि लाग्नु हुँदैन। ह्याण्डल आकृति बन्दा बजार केही निश्चित अंकले तलमाथि गर्छ (साइडवेज मुभमेन्टमा जान्छ)। र, बढ्दै गएर पुरानो उचाइमा पुग्दा ब्रेक-आउट भनेर बजार थप माथि जाने मानिन्छ।
बजारले यस्तो ब्रेक-आउट गरेमा कतिसम्म बढ्ला?
यसको अड्कल काट्न कप विथ ह्याण्डलमा बनेको कपको गहिराइलाई समेत हेर्ने गरिन्छ।
मानौं – ३१९८ बाट बजार घटेर १८८९ विन्दुमा आइपुग्दा १३०९ अंक गुमाएको थियो। यो अंक नै कप विथ ह्याण्डलमा रहेको कपको गहिराइ हो। यो गिरावटमा जति गहिराई छ, बजार त्यति नै बढ्छ भन्ने विश्लेषण गरिन्छ। तर सधैं ब्रेक-आउट नभए ब्रेक-डाउन पनि हुन सक्छ। अर्थात् ब्रेक-आउटमा नपुगेर घट्न पनि सक्छ।
साइडवेज मुभमेन्ट
बजार निश्चित अंकबीच रहेर तलमाथि गर्नुलाई साइडवेज मुभमेन्ट भनिन्छ। लगानीकर्ताहरू अनिश्चय हुँदा प्रायः यस्तो आकृति बनिरहेको हुन्छ।
केही महिनाअघि पनि नेप्से परिसूचक लामो समय साइडवेज मुभमेन्टमा देखिएको थियो। २०७९ वैशाखदेखि देखिएको साइडवेज मुभमेन्ट केही महिनाअघि मात्रै सकिएर बजार बढेको थियो।
यो अवधिमा नेप्से साइडवेजमा रहँदा १८०० देखि २२ सयको विन्दुमा रहेर तलमाथि गरिरहेको थियो। साइडवेज मुभमेन्ट सकिँदा बजार बढेको छ भने थप बढ्ने र घटेको छ भने थप घट्ने मानिन्छ।
मुभिङ एभरेज रेखा
सेयर बजारको विश्लेषणमा प्रयोग हुने अर्को औजार हो मुभिङ एभरेज रेखा।
एक्सेलमा नेप्सेको हरेक दिनको तथ्यांक राख्ने र त्यसमा मुभिङ एभरेज रेखा तानेर हेर्न सकिन्छ। विश्लेषणका लागि सामान्यतया पाँच दिने र २० दिने रेखा वा सात दिने र २१ दिने रेखा राखेर तुलना गरिन्छ।
यदि पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने रेखालाई काटेर माथि लागेमा, गोल्डेन क्रस-ओभर भएको मानिन्छ। गोल्डेन क्रस-ओभरले बजार बुलिश प्रवृत्तिमा गएको संकेत गर्छ।
बीस दिने रेखाले पाँच दिने मुभिङ एभरेज रेखालाई काटेर माथि लागेमा डेथ क्रस-ओभर भएको मानिन्छ। डेथ क्रस-ओभरले बजार बियरिश प्रवृत्तिमा फर्किएको संकेत गर्छ।
प्राविधिक विश्लेषण पछ्याउने लगानीकर्ताहरूले गोल्डेन क्रस-ओभर भएपछि बजारमा सेयर किन्ने र डेथ क्रस-ओभर हुँदा बिक्री गर्ने नीति लिन्छन्।
हेड एण्ड सोल्डर र इन्भर्टेड हेड एण्ड सोल्डर
हेड एण्ड सोल्डर प्रवृत्तिमा तीनवटा मुख्य उचाइ हुन्छ। बीचको उचाइ अलि माथि हुन्छ र यसलाई हेड अर्थात् टाउको मानिन्छ।
यसरी टाउको दायाँबायाँ कुम रहेजसरी दुई साना साना उचाइ बनेमा यसलाई हेड एण्ड सोल्डर आकृति बनेको मानिन्छ।
हेड एण्ड सोल्डरमा बन्ने आकृति दुरूस्तै हुनुपर्छ भन्ने हुँदैन। केही तलमाथि देखिने गरेर पनि बन्न सक्छ। बजार बढ्दा बन्ने यस्तो आकृतिलाई हेड एण्ड सोल्डर भनिन्छ।
बजार घट्दा पनि न्यूनतम तहमा पुगेर यस्तै आकृति बन्न सक्छ। यसलाई भने इन्भर्टेड हेड एण्ड सोल्डर अर्थात् उल्टो हेड एण्ड सोल्डर आकृति भनिन्छ।
यी आकृतिहरूले बजारमा यसअघिको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गर्छन्।
यदि बढ्दो बजारमा हेड एण्ड सोल्डर बनेको छ भने बजार अब घट्न थाल्छ भन्ने विश्लेषण गर्न थालिन्छ। घट्दो बजारमा इन्भर्टेड हेड एण्ड सोल्डर बनेको छ भने अब बजार बढ्न थाल्छ भनेर विश्लेषण गरिन्छ।
यो संकेत देखिन थालेको पुष्टि गर्ने आधारहरू पनि हुन्छन्। त्यो हो यो आकृतिमा देखिने ब्रेक-आउट विन्दु।
यस्तो आकृतिमा कुम बन्ने क्रमका विन्दुहरू नै ब्रेक-आउट विन्दु हुन्। यसलाई पार गरेमा बजार थप घट्ने वा बढ्ने हुन्छ भनेर मानिन्छ। प्रवृत्ति परिवर्तनमा हेड एण्ड सोल्डर विश्वासिलो मानिन्छ।