सेयर बजारमा चलनचल्तीको शब्दहरू हुन्, बुल वा बुलिस मार्केट र बियर वा बियरिस मार्केट। सामान्यतः बुल मार्केट भन्नाले तल्लो बिन्दुबाट बजार २० प्रतिशतले बढेपछिको अवस्थालाई जनाउँछ।
त्यस्तै, बियर मार्केट भन्नाले माथिल्लो बिन्दुबाट बजार २० प्रतिशतले घटेपछिको अवस्थालाई जनाउँछ। १८ औं शताब्दीमा घट्दो बजारलाई जनाउन बियर शब्दको प्रयोग भएको मानिन्छ।
छोटो अवधिमा हुने उतारचढावबाट नाफा लिने गरी वा सट्टेवाजी किसिमले गरिने किनबेचलाई जनाउन 'बियरस्किन' भनेर यसको प्रयोग सुरू भएको मानिन्छ। पछि यही बियरस्किन शब्द बियरको रूपमा लिइएको मानिन्छ।
बुल भनेको साँढे हो। साँढेले जुध्दा सिङले तलबाट उधिन्ने प्रयास गर्दै टाउको उचाल्ने भएकोले बढ्दो बजारलाई बुलसँग तुलना गरिएको मानिन्छ।
एक कवि एलेक्जेन्डर पोपले आफ्नो कवितामा बियरको प्रतिद्वन्द्वीको रूपमा 'बुल' लाई देखाएपछि यो शब्द प्रयोगमा आएको मानिन्छ। बेलायतमा १८ औं शताब्दीमै साउथ सि कम्पनीको मूल्यमा उछाल आएको थियो। त्यो उछालपछि मूल्य 'ब्रष्ट' भएको (उच्च दरमा घटेको) थियो। सोही सन्दर्भमा लेखिएको कवितामा उनले बुल प्रयोग गरेको कारण यो शब्दको प्रयोग हुन थालेको मानिन्छ।
शब्दको अर्थबाट बाहिरिएर हेर्ने हो भने बुल र बियरलाई सेयर बजारका चक्र भनेर बुझ्न सकिन्छ।
नेपाली सेयर बजारले पनि चौथो चक्र पूरा गरेर पाँचौं चक्र पूरा गर्ने प्रयास गरिरहेको छ। हालसम्म चार वटा उच्च बिन्दु बनाइसकेको छ।
नेपालमा सेयर बजार सुरू भएको केही वर्षमै नेप्से पाँच सय बिन्दुसम्म पुगेर घट्न थालेको मानिन्छ। त्यसपछि भने नेप्सेले २०६५ भदौ १५ मा ११७५ को उचाइ भेटेको थियो। यो दोस्रो बुल थियो।
त्यसपछि फेरि बजार बियरिस प्रवृत्तिमा देखियो। नेप्से २९२ सम्म पुगेर बढ्न थाल्यो। २०७३ साउनमा नेप्सेले फेरि १८८१ मा नयाँ उचाइ भेट्यो। यो तेस्रो बुल थियो।
बुलपछि बजार घट्नु नै थियो। बजार घट्दै १११० बिन्दुसम्म आयो। त्यसपछि बढेको बजारले बिसं २०७८ भदौ २ गते नेप्सेले हालसम्मकै उच्च बिन्दु ३१९८ बिन्दु भेट्यो। यो चौथो बुल थियो।
त्यहाँबाट घटेको बजार १८३४ बिन्दुसम्म ओर्लियो र त्यहाँबाट बढेर गत साता ३००१ सम्म पुगेको छ। तर, यसपटक यसअघिको उच्च बिन्दु नै तोडिएको छैन। यस पटक बजार बढेर यसअघिको उच्च बिन्दुभन्दा एक सय ९७ अंक तलैबाट घट्यो।
भदौ ९ गते आइतबार बजार बन्द हुँदा नेप्से हालसम्मको उच्च बिन्दुभन्दा ३०३ अंक तल आएर २८९४ मा रोकिएको छ। यससँगै कतै यो 'बुल डेड' त थिएन भनेर पनि लगानीकर्ताहरू चिन्तामा देखिन थालेका छन्।
केही वर्षअघि एक नेपाली सेयर विश्लेषकले यो शब्दको प्रयोग गरेका थिए। बजार तेस्रो पटक बुल हुनुअघि भएको ठूलो करेक्सन (गिरावट)लाई आधार मानेर उनले 'डेड बुल' को संज्ञा दिएका थिए।
२०७३ साउनमा नेप्सेले १८८१ को बिन्दुमा तेस्रो उचाइ भेट्नुअघि दुई पटकसम्म एक हजार र १२ सयको बिन्दु आसपासबाट बजार घटेको थियो। २०७१ साउनमा बजारले एक हजार बिन्दु कटे पनि यसअघिको उच्च बिन्दु ११७५ नकट्दै बजार घट्न थाल्यो र ८३७ बिन्दुमा पुगेपछि मात्रै घट्न रोकियो।
फेरि २०७२ भदौमा १२०२ बिन्दुमा पुगेर पुरानो ११७५ को उच्च बिन्दुको रेकर्ड त तोड्यो। तर, बजार त्यसपछि नै घट्न सुरू भयो। २०७३ साउनमा मात्रै नेप्सेले १८८१ को नयाँ उचाइ बनायो।
नेप्सेले यो तेस्रो बुलमा मात्रै होइन दोस्रो बुलमा पनि उच्च बिन्दु बनाउन अघि नजिकसम्म पुगेर केही घटेपछि मात्रै बनाएको छ।
ती विश्लेषकले 'डेड बुल' चलनचल्तीमा ल्याए पनि यो शब्दावलीको प्रयोग नेपालमा बाहेक अन्यत्र भएको पाइँदैन।
'डेड बुल' नै नभन्ने हो भने पनि बजारमा नयाँ उचाइ बनाउनु अघि केही न केही करेक्सन हुने मान्न सकिन्छ। चौथो बुल अर्थात् ३१९८ भेट्नुअघि पनि नेप्सेमा केही करेक्सन आएको देखिन्छ। तर, ती धेरै ठूलो करेक्सन भने थिएनन्।
एक चरण बजारमा कमाइसकेकाहरूले नाफा सुरक्षित गर्न थाल्दा पनि यस्ता करेक्सनहरू आउँछ। यस्ता करेक्सनको क्रममा लगानीकर्ता धेरै आत्तिए वा बजारलाई नकारात्मक प्रभाव पर्ने कुरा आएमा भने बजार थप केही घट्न सक्छ। यद्यपी बुल बजारले नयाँ रेकर्ड बनाउन पुरानो रेकर्ड तोडेकै हुन्छ।
यसअघिकै बुलमा पनि नेप्से पुरानो रेकर्डबाट ६ सयदेखि १३ सय अंकसम्म माथि पुगेको छ।
त्यसैले अन्य कुरा यथावत अवस्थामा रहँदा बजारमा लगानीकर्ताको मनोविज्ञानले नै धेरै काम गर्छ। अहिले बजारमा अन्य कुरा यथावत नै छ। ब्याजदर घटेको छ, कर्जा लगानीयोग्य रकम बैंकमा उच्च छ।
अहिले बजार घट्नुमा एक नाफा सुरक्षित गर्ने बढेकोले पनि हो। त्यसबाहेक सरकार फेरबदल हुनसक्ने सम्मका हल्ला बजारमा चलाइएको छ। यस्ता खबरले पनि बजार घट्न पुग्छ।
त्यसो भए अहिले अब बजार के हुन्छ त? बजारको भाबी दिशा यही हो भनेर कसैले पनि भन्न सक्दैनन्। तर, बजार कहाँसम्म घटेर फर्किन सक्छ भनेर प्राविधिक विश्लेषणका औजारहरूबाट हेर्न भने सकिन्छ।
अहिले धेरै विश्लेषकले बजार घट्न थाले २८१० देखि २८२० सम्म पुगेर फर्किन सक्ने आकलन समेत गरिरहेका छन्। यस्तो आकलनको आधार भने 'फिबोनाची रिट्रेसमेन्ट'लाई लिएका हुन्। बजारले न्यून बिन्दुबाट उच्च बिन्दु पुग्दा जोडेको अंकको आधारमा यसको हिसाब गरिएको हुन्छ।
बजार २०३७ बाट सामान्य करेक्सनसहित लगातार बढेर ३०४८ बिन्दुसम्म पुगेको थियो।
यो क्रममा नेप्सेले एक हजार ११ अंक जोडेको छ। यो जोडेको अंकको आधारमा २३ प्रतिशतमा हुने बिन्दु, ३८ प्रतिशतमा हुने बिन्दु, ५० प्रतिशतमा हुने बिन्दु र ६१ प्रतिशतमा हुने बिन्दुलाई हेरेर बजारले कहाँ, कहाँ टेवा पाएरबाट बढ्न सक्छ त भनेर हेरिन्छ।
बजारले जोडेको अंकको २३ प्रतिशत गुमाएपछि बजार बढ्न सक्छ भन्ने अनुमानमा २८११ को आसपासको बिन्दुबाट बजार फर्कने अनुमान भइरहेको हो।
यो पनि:
सेयर बजारमा कस्ता संकेत देखिँदा के गर्ने निर्णय?