बिहीबार सेयर बजार परिसूचक नेप्से २९७४.४६ बिन्दुमा छ। यो बिन्दु हालसम्मको उच्च बिन्दु ३१९८ भन्दा दुई सय २४ अंकले मात्रै तल छ।
अहिले बजार उच्च बिन्दुमा आइपुगेकोले लगानीकर्ताहरू अन्योलमा छन्। बजार घट्ने वा बढ्ने कुन प्रवृत्तिमा जान्छ भनेर पनि दुविधाकै अवस्था छ।
यद्यपि बजारलाई आवश्यक वातावरण भने बनिरहेको छ।
पहिलो, सरकार नै यसमा सकारात्मक छ। बिहीबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आर्थिक गतिविधि चलायमान हुन थालेको संकेतको रूपमा सेयर बजारमा भएको वृद्धिलाई समेत लिएका थिए।
यसबाहेक अहिले बैंकहरूमा निक्षेपको ब्याजदर घट्दो प्रवृत्तिमा छ। भदौमा बैंकहरूले निक्षेपको औसत ब्याजदर ६.४६ प्रतिशत प्रस्ताव गरेका छन्। साउनमा यस्तो औसत ब्याजदर ६.६७ प्रतिशत थियो।
सेयर बजार र निक्षेपको ब्याजदरबीच सदैव विपरीत सम्बन्ध हुन्छ। बैंकहरूले निक्षेपमा दिने ब्याजदर घट्दै गर्दा सेयर बजार बढ्दै जान्छ भने यस्तो ब्याजदर बढ्दै जाँदा बजार पनि केही घट्न थाल्छ।
कर्जाको ब्याजदर पनि ३० महिनापछि एकल अंकमा आएको छ। असारमा वाणिज्य बैंकहरूले दिने कर्जाको औसत ब्याजदर ९.९३ प्रतिशत छ। साउन र भदौमा पनि निक्षेपको ब्याजदर घटेकोले कर्जाको ब्याजदर पनि केही न केही घटेको मान्न सकिन्छ।
अन्य आर्थिक गतिविधिमा देखिने सुधार नआएकोले पनि यो तहमा बजार आइपुग्दा अब बजार के हुन्छ भन्नेमा लगानीकर्ता अन्योलमा देखिएका हुन्। यसअघिकै उदाहरण हेर्ने हो भने २०६५ भदौ १५ मा ११७५ को उचाइ भेट्नुभन्दा केही महिनाअघि नेप्से एक हजार बिन्दु पार गरेर केही ओर्लिएको थियो।
केही महिनापछि भने नयाँ उचाइ लियो। नयाँ उच्च बिन्दु बनाउँदा बजारले जहिले पनि अघिल्लो उच्च आसपासमा केही समय प्रतिरोध पाउँछ। कहिलेकाहीँ भने यस्तो प्रतिरोध नै नपाएर बजार बढेका छन्।
अहिले पनि नेप्से तीन हजारको बिन्दुमा आइपुग्दा त्यहाँबाट माथि उक्लन सकिरहेको छैन। त्यसैले यहाँ प्रतिरोध देखिएको छ। यो प्रतिरोध बलियो नै देखिन्छ।
आगामी दिनमा आउने सकारात्मक खबरले बजार बढाउन सक्छ भने नकारात्मक खबर आएमा बजार घट्न सक्छ।
पुरानो उचाइबाट अहिले आउँदा नेप्से परिसूचकमा 'कप विथ ह्याण्डल' आकृति बन्न लागेको देखिन्छ। धेरै कम्पनी अघिल्लो उच्च बिन्दु हुँदा मूल्य उच्च भएको र तिनको मूल्य पनि अहिले सोही समयको हाराहारी आएकोले तिनमा पनि 'कप विथ ह्याण्डल' आकृति बन्न लागेको छ।
यो क्रममा केही समय बजार साइडवेज मुभमेन्ट अर्थात् निश्चित विन्दुमा तलमाथि गर्छ। यो आकृतिको ब्रेक आउट बिन्दु भनेकै ३१९८ बिन्दु हो। यो बिन्दु कट्न सकेमा नेप्से थप बढ्न सक्छ। तर, ब्रेक आउट हुन सकेन भने बजार घट्ने सम्भावना रहन्छ।
बजारले यो ब्रेक आउट गरेमा कतिसम्म बढ्ला? यसको अड्कल काट्न 'कप विथ ह्याण्डल' मा बनेको कपको गहिराइलाई समेत हेर्ने गरिन्छ।
अर्थात् ३१९८ बाट बजार घटेर १८८९ बिन्दुमा आइपुग्दा १३०९ अंक गुमाएको थियो। यो अंक नै 'कप विथ ह्याण्डल' मा रहेको कमको गहिराइ हो।
जति गहिराइ छ बजार त्यति नै बढ्छ भन्ने विश्लेषण गरिन्छ। त्यसैले ब्रेक आउट पनि चार हजार आसपास बजार पुग्न सक्ने विश्लेषण गर्न सकिन्छ। सधैं उत्तिनै अंकले बढ्ने ग्यारेण्टी नभए पनि केही न केही बढ्न भने सक्छ।
त्यसैले ब्रेक आउट भएमा बजार थप केही बढ्न सक्छ भने ब्रेक डाउन भएमा बजार घट्न सक्छ।
त्यस्तै, यस्तो उचाइमा हुँदा यस्ता परिसूचकमा डबल बटम पनि बन्न सक्छ। यसअघिको उचाइ हेर्ने हो भने नेप्से ३१९८ पुगेर घट्ने क्रममा २२७० सम्म पुगेर फर्कियो।
त्यहाँबाट बढेर २९८१ पुगेपछि भने बजार घट्दो प्रवृत्तिमै गयो। यहाँ 'डबल टप' अर्थात् अंग्रेजी 'अक्षर एम' बनेको थियो। संकेत अनुसार नै बजार घट्दो प्रवृत्तिमा गयो।
२०६५ भदौ १५ मा ११७५ को उचाइ भेट्नुअघि एक हजारमाथि पुगेर बजार घट्यो। पछि बजार ११७५ मा पुगेपछि पनि यहाँ 'डबल टप' अर्थात् अंग्रेजी 'अक्षर एम' बनेको थियो। संकेत अनुसार नै बजार घट्दो प्रवृत्तिमा गयो।
यस्ता आकृतिलाई ख्याल गरेर पनि लगानी रणनीति बनाउन सकिन्छ।
बजार जति उचाइमा हुन्छ जोखिम पनि त्यति नै बढ्दै गइरहेको हुन्छ। त्यसैले लगानीकर्ताले आफ्नो रणनीति बनाउँदा भने लगानी क्षमतालाई हेरेरै गर्नु सही हुन्छ।