अघिल्लो वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलताको कारण गत वर्ष मुलुकका धेरै सूचकांकमा सुधार भए पनि अर्थतन्त्रले अपेक्षित गतिशिलता पाइरहेको छैन।
बाह्य क्षेत्रमा देखिएको दबाबको अवस्थाबाट मुलुक निकै सुविधाजनक अवस्थामा आइपुगेको छ। बढ्दो रेमिटेन्स, दुई वर्षदेखि आयातमा आएको संकुचन, कर्जा लगानीमा आएको संकुचनले बाह्य क्षेत्रको दबाब हटेको हो।
सात वर्षपछि चालु खाता नाफामा
सात वर्षपछि चालु खाता वार्षिक रूपमा नाफामा देखिएको छ। आयात घटेको कारण मुलुकको चालु खाता पनि दुई खर्ब २१ रूपैयाँ नाफामा देखिएको हो।
यस्तो खाता आर्थिक वर्ष २०७३–७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।
गत आर्थिक वर्ष २०८०–८१ मा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम पाँच खर्ब दुई अर्बले धेरै भएको छ।
मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ।
अघिल्लो वर्षको असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। प्रत्यक्ष वैदेशिक लगानी ३६.१ प्रतिशतले बढेर आठ अर्ब ४० करोड रूपैयाँ पुगेको छ।
१९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रेमिटेन्स
गत आर्थिक वर्ष २०८०–८१ भरीमा १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। १९ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।असार महिनामा मात्रै एक खर्ब १७ अर्ब ८० करोड रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
यो जेठ महिनामा भित्रिएकोभन्दा करिब ११ अर्ब रूपैयाँले कम हो। वार्षिक आधारमा भने १६.५ प्रतिशतले रेमिटेन्स बढेको हो। गत आर्थिक वर्ष २०७९–८० मा १२ खर्ब ४० अर्ब रेमिटेन्स भित्रिएको थियो।
१३ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
गत आर्थिक वर्ष २०८०–८१ मा मुलुकको विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब रूपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च हो।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १५ अर्ब २७ करोड डलर छ।
मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १३ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्छ।
गत आर्थिक वर्ष आयात १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यही अवधिमा १६ खर्ब ११ अर्ब रूपैयाँको आयात भएको थियो।
बढ्दै तयारी सामान आयात
आयात हुने वस्तुमा सोझै उपभोग गर्न सकिने तयारी सामानको हिस्सा उच्चले बढेको छ। गत आर्थिक वर्ष २०८०–८१ मा ६ खर्ब ६१ अर्बको तयारी सामान आएको हो।
यसअघि ६ खर्ब १७ अर्ब रूपैयाँको यस्तो सामान आएको थियो। यसमा ६.९७ प्रतिशतले वृद्धि भएको हो। यो कुल आयातको ४१.५ प्रतिशत हिस्सा हो। यसअघि यस्तो हिस्सा ३८.३ प्रतिशत थियो।
त्यस्तै, गत आर्थिक वर्ष २०८०–८१ मा सात खर्ब ७७ अर्बको मूल्य अभिवृद्धि गर्ने सामान आएको हो।
यसअघि आठ खर्ब ५७ अर्ब रूपैयाँको यस्तो सामान आएको थियो। यसमा ९.३० प्रतिशतले गिरावट हो। यो कुल आयातको ४८.८ प्रतिशत हिस्सा हो। यसअघि यस्तो हिस्सा ५३.२ प्रतिशत थियो।
मुलुकमा पुँजी निर्माण हुने सामानको आयात गत आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब ५३ अर्ब छ।
यसअघि एक खर्ब ३६ अर्ब रूपैयाँको यस्तो सामान आएको थियो। यसमा १३ प्रतिशतले वृद्धि भएको हो। यो कुल आयातको ९।७ प्रतिशत हिस्सा हो। यसअघि यस्तो हिस्सा ८.४ प्रतिशत थियो।
एक वर्षमा विद्यार्थीले लगे एक खर्ब २५ अर्ब
गत आर्थिक वर्षमा पर्यटकहरूबाट ८२ अर्ब ३२ करोड रूपैयाँ भित्रिएको हो भने नेपालबाट विद्यार्थी र घुम्न जाने लगायतले एक खर्ब ८९ अर्ब रूपैयाँ लगेका छन्।
यसमध्ये अध्ययन गर्न जानेले मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ विदेश लगेका हुन्।
यहाँ अध्ययन गर्न आउने विदेशी विद्यार्थीले ६ अर्ब एक करोड भित्र्याएका छन्।
सन् २०२४ को यो सात महिना (जुलाईसम्म) को अवधिमा ६ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पूरा भएन निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य
राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०–८१ मा निजी क्षेत्रतर्फ जाने कर्जाको लक्ष्य ११.५ प्रतिशत राखेको भए पनि त्यो लक्ष्य पूरा हुन सकेन।
आर्थिक शिथिलताले कर्जा मागमा आएको कमी र राष्ट्र बैंकले चालु पुँजी कर्जा लगायतमा गरेको केही नीतिगत कडाइले समेत कर्जा विस्तार लक्ष्य अनुसार हुन नसकेको हो।
गत आर्थिक वर्षभरीमा निजी क्षेत्रतर्फ गएको कर्जा ५.८ प्रतिशतले बढेर ५० खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यसअघि यस्तो कर्जा ३.८ प्रतिशतले बढेर ४७ खर्ब ९७ अर्ब रूपैयाँ पुगेको थियो।
बैंकहरूको पाकेर पनि उठाउन नसकेको ब्याज एक खर्ब १९ अर्ब रूपैयाँ छ।
यही कारण समग्र निजी क्षेत्रको बैंकमा दाबी ६.१ प्रतिशतले बढेर ५२ खर्ब दुई अर्ब पुगेको छ। यसअघि उठाउन नसकेको ब्याज ९९ अर्ब ७८ करोड रूपैयाँ थियो।
कर्जाको ब्याजदर भने ३१ महिनाकै न्यून विन्दुमा छ। असार महिनामा यस्तो औसत ब्याजदर ८ प्रतिशत छ।