सोमबारको सेयर बजारमा एकभन्दा बढी रेकर्ड बन्यो।
यसदिन हालसम्मकै उच्च कारोबार मात्रै भएको बजारको आकार पनि हालसम्मकै ठूलो भयो।
सोमबार एकैदिन सेयर बजारमा २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ।
यो ऐतिहासिक उच्च कारोबार हो। कारोबार रकममा नयाँ रेकर्ड बनेको हो।
त्यस्तै, आइतबार पनि नेप्सेमा एकैदिन २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो। आइतबारको रेकर्ड दोस्रो दिन नै तोडिएको हो।
कारोबार रकम मात्रै होइन, बजारको आकारमा पनि वृद्धि भएको छ।
बजारको आकार बढेर ४६ खर्ब ५३ अर्ब रूपैयाँ पुगेको छ। आइतबारदेखि यसमा समेत नयाँ रेकर्ड बनिरहेको छ।
आइतबार कुल बजार पुँजीकरण ४५ अर्ब ४१ करोड रूपैयाँ रहेकोमा सोमबार थप बढेको हो।
त्यसअघि २०७८ भदौ २ गते कुल बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रूपैयाँ थियो। २०७८ भदौ २ गतेको रेकर्ड हिजो आइतबार तोडिएको हो।
सामान्य भाषामा भन्दा बजारमा सूचीकृत कम्पनीहरूको सबै सेयरको मूल्यको जोड नै त्यही दिनको कुल बजार पुँजीकरण रकम हो।
सेयरको मूल्य बढ्दा समेत यसमा वृद्धि हुन्छ भने सूचीकृत कम्पनीहरू बढ्दै जाँदा समेत यसमा वृद्धि हुन्छ।
सूचीकरणकोभन्दा पनि मूल्य घटबढको कारणले यसमा धेरै उतारचढाव आउँछ। यो लगानीकर्ताहरूको कागजी सम्पत्ति मात्रै हो। मूल्य घटबढसँगै लगानीकर्ताहरूको यस्तो सम्पत्ति पनि घटबढ भइरहन्छ। जब लगानीकर्ताले सेयर बिक्री गरेर नगद हात पार्छ, तब मात्रै यो सम्पत्ति वास्तविक हुन्छ।
लगानीकर्ताहरूको सेयर सम्पत्तिको आकार सोमबार हाम्रो अर्थतन्त्रको ८१ प्रतिशत हाराहारी हुन आएको छ। हाम्रो अर्थतन्त्रको आकार हाल ५७ खर्ब चार अर्ब हाराहारी छ।
सोमबार नेप्से परिसूचक पनि ३१ महिनाको उच्च विन्दुमा आइपुगेको छ। नेप्से परिसूचक ७०.६७ अंकले बढेर २९३१.५२ विन्दुमा आएको छ। यसअघि नेप्से २०७८ माघ ४ गते २९३६ विन्दुमा थियो।
२०७८ भदौ २ गते हालसम्मकै उच्च विन्दु ३१९८ मा पुगेको सेयर बजार त्यसपछि वियरिश प्रवृत्तिमा गएको थियो। यो क्रममा १८ सय विन्दुलाई न्यूनतम विन्दु बनाएको नेप्से पटक–पटक १८ सयको विन्दु पुग्दै फर्किंदै बढेको हो।
नेप्सेले नयाँ उचाइ बनाउने तयारी गरिरहँदा पनि कतिपय कम्पनीको पहिलेको मूल्य नआएकोले बजार थप बढ्ने अनुमान लगानीकर्ताले गर्दै आएका छन्।
तर, सबै कम्पनीको मूल्य पहिलेको उच्च मूल्यमा पुग्छ भनेर सोच्नु गलत हुने विश्लेषकहरू बताउँछन्।
यसअघिका बुलमा कतिपय वाणिज्य बैंकहरूकै मूल्य पनि २/३ हजारमाथि पुगेको रेकर्ड छ। तर, दशकभन्दा लामो समयमा पनि बैंकहरूको मूल्य त्यो तहमा बढ्न सकेको छैन।
त्यसैले कम्पनीको पूर्व मूल्यको आधारमा मात्रै नभएर कम्पनीहरूको वित्तीय अवस्था, लाभांश क्षमता समेतलाई आधार मानेर लगानी गर्नुपर्ने हुन्छ।
बजार उच्च हुँदा यस्ता सूचकलाई झन् धेरै प्राथमिकता दिनुपर्ने हुन्छ। किनभने बजार बढ्दा यस्ता पक्षहरूले मात्रै बजार बढेको हुँदैन। र, घट्दा अवस्था कमजोर भएका कम्पनीमा धेरै गुमाउन पर्ने हुनसक्छ।
उच्चमा पुगेर मूल्य घट्न थालेमा अवस्था राम्रो रहेका कम्पनीमा भने लगानीकर्ताले गुमाउँदा पनि कम गुमाउने हुनसक्छ।
त्यसबाहेक कम्पनीहरूले दिने प्रतिफलले पनि नोक्सान कम हुने अवस्था बन्छ। त्यस्ता कम्पनी प्रति लगानीकर्ताको विश्वासले पनि मूल्य धेरै नघट्ने र घटेमा पुन: वृद्धि हुने सम्भावना हुन्छ।