सेयर बजार सधैं एउटै लयमा चल्दैन। कहिलेकाहीँ सेयर बजार बढ्दा अस्वाभाविक बढेको वा घट्दा अस्वाभाविक घटेको भन्ने खालका टिप्पणी पनि सुन्न पाइन्छ।
अहिले बजारले कारोबारमा नयाँ रकर्ड राखेको छ। बजार पनि २९ महिनाकै उच्च विन्दुमा छ। त्यसैले अहिले बजार अस्वाभाविक बढ्यो भन्ने टिप्पणी सुन्न थालिएको छ।
गत सोमबार सघीय संसदमा सांसद अम्रेश कुमार सिंहले सेयर बजारमा चलखेल भएको भन्दै केही कम्पनीको नाम नै लिए। त्यसलगत्तै सामाजिक सञ्जालमा उनको निकै विरोध भयो। विभिन्न 'मिम' बनाइए।
उनको भनाइ उद्धृत गर्दै समाचार वा यसरी सेयर गरिएका मिममा अनौठा कमेन्ट पनि थिए। जसमा ठूला लगानीकर्ता पसेको कम्पनीबारे जानकारी दिएको भन्दै सिंहलाई धन्यवाद दिइएको थियो।
केही मानिसहरू ठूला लगानीकर्ता पसेका सेयरको भाउ केही समय बढिरहन्छ भन्ने अपेक्षामा लगानी गर्न तम्सिन्छन्। यो प्रवृत्ति सही वा गलत हो आफ्नो ठाउँमा छ। त्यस्ता लगानीकर्ताको स्वार्थ भने अर्को पसेर मूल्य बढाइदिन्छ र म पनि त्यसको पछि लागेर लाभ उठाउँछु भन्ने हुन्छ।
यही समय केही लगानीकर्ताहरू भनिरहेका छन्, 'सेयर बजारमा लगानी गर्ने त्यति मूर्ख हुँदैनन्, जति अरूले ठान्छन्। त्यसैले बजारलाई आफ्नै लयमा छोडिदेऊ। बजार घट्न परे आफै करेक्सन हुन्छ। बढ्न परे पनि आफै बढ्छ।'
के बजारमा लगानी गर्नेहरू साँच्चिकै अबुझ हुन्छन् त?
बजारमा सबैले एउटै रणनीतिले लगानी गरिरहेका हुँदैनन्।
कसैले कम्पनीको अवस्था, त्यसको वार्षिक वित्तीय विवरण, कम्पनीको नेतृत्व, सञ्चालकहरूको पृष्ठभूमि, कम्पनीसँग भएको जग्गा वा भवन जस्ता चल-अचल सम्पत्ति, कम्पनीको भविष्यमा हुनसक्ने कमाइ लगायत विभिन्न पाटो हेरिरहेका हुन्छन्।
कतिपयले भने कम्पनीमा को लगानीकर्ता पसेको छ भन्ने बुझेर लगानी गरिरहेका हुन्छन्। ‘टिप्स’ नामले यस्ता सूचना एक लगानीकर्ताबाट अर्को लगानीकर्तामा पुगिरहेको हुन्छ।
त्यसैले, बजारमा चलखेल नै हुँदैन भन्न सकिँदैन।
एउटा उदाहरण हेरौं।
गत असार २ गते एउटा वित्त कम्पनीको सेयर मूल्य ६ सय ९ रूपैयाँ थियो। साउन २४ गते बिहीबार यो कम्पनीको सेयर मूल्य २०४९ रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा सो कम्पनी एक करोड रूपैयाँ मात्र नाफामा छ। कम्पनीको सञ्चित नोक्सानी २० करोड छ। खराब कर्जा ९ प्रतिशत बढी छ। तर पनि यसको सेयर भाउ निकै उच्च छ।
अर्को एउटा त्यस्तै लघुवित्त कम्पनी छ जसको सेयर मूल्य अहिले २७८० रूपैयाँ छ। सो कम्पनी अहिले २२ लाख रूपैयाँ नोक्सानमा छ। खराब कर्जा १० प्रतिशत माथि छ।
यस्ता कम्पनीको मूल्य अपेक्षित रूपमा घटबढ गराउन सक्ने एउटा मात्रै आधार भनेको यिनीहरूको न्यून चुक्ता पुँजी हो। चुक्ता पुँजी जति कम हुन्छ, सर्वसाधारणमा पुगेको सेयर संख्या उति कम हुन्छ। जति कम सर्वसाधारणको हातमा सेयर पुगेको छ, त्यति नै सेयर मूल्य बढाउँदै लैजान सकिने हुन्छ।
अघि उदाहरण दिएका कम्पनीहरूमा पनि एउटाको चुक्ता पुँजी दुई करोड २८ लाख रूपैयाँ र अर्कोको ७२ करोड रूपैयाँ मात्र छ।
यस्ता कम्पनीको ४९ प्रतिशत हाराहारी सेयर मात्रै सर्वसाधारणको हातमा हुन्छ। अन्य सेयर संस्थापक सेयरको रूपमा अलग्गै मूल्यमा कारोबार हुन्छ।
अहिले ठूला वाणिज्य बैंक लगायतका उच्च चुक्ता पुँजी भएका कम्पनीहरूको यसरी मूल्य बढाउन सकिने अवस्था नै हुँदैन। यस्ता कम्पनीहरूको सेयर धेरै मानिसमा पुगेको हुन्छ। त्यसैले मूल्यमा एक मत कायम गर्न सकिँदैन। थोरै बढ्दा पनि प्रतिफल सुरक्षित गरिहाल्ने प्रवृत्ति हुन्छ।
अरूको चलखेल पछ्याउनेले चुक्ता पुँजी तुलनात्मक रूपमा कम भएको र लाभांश दिने क्षमता पनि भएका कम्पनीमा भने धेरै घाटा बेर्होन नपर्ने हुन सक्छ। त्यसैले लगानीकर्ताका आआफ्नै रणनीति हुन्छन्। नबुझेर भन्दा पनि बुझेरै जोखिम लिएर लगानी गर्नेहरू पनि हुन्छन्।
त्यसैले त केही लगानीकर्ताहरू भन्छन्, ‘सेयर बजारमा एक जोड एक दुई नै हुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ ११ पनि हुन सक्छ। अनि कहिले त्यही ११ ले नै ऋणात्मक पनि हुन सक्छ।’
यस्तै कारणले नेपाली सेयर बजारमा ९० प्रतिशत लगानीकर्ताले गुमाउने र १० प्रतिशतले मात्रै कमाउने अवस्था बन्ने गरेको लगानीकर्ता अम्बिका प्रसाद पौडेल बताउँछन्। र, बजारको सरदर वार्षिक प्रतिफल १०/१५ प्रतिशत हाराहारी भए पनि केहीले दुई-तीन गुणा नै कमाउँछन् भने केहीले सर्वस्व गुमाउँछन्।
बजारको चलखेल नियन्त्रण गर्न नियामक निकाय चनाखो हुनुपर्छ। सेयर बजारमा भित्री कारोबार नियन्त्रणको अधिकार नियामक निकाय धितोपत्र बोर्डले पाएको छ। लगानीकर्ताले पनि चलखेलमा सेयरमा जोखिम लिने की नलिने, कतिसम्म लिने भनेर आफैले आफ्नो सीमा कोर्नुपर्छ।
किनभने, बजारमा अबुझहरू पनि हुन्छन्। तपाईं आफै यस्तो अबुझ बनिसक्नुहुन्छ।
सेयर बजारमा एउटा मान्यता वा सिद्धान्त छ — ग्रेटर फुल थ्योरी।
यो सिद्धान्तले भन्छ — कम्पनीहरूको मूल्य बढ्नुको कारण के पनि हो भने, केही लगानीकर्ताले सेयर अधिमूल्यन भएको अवस्थामा पनि महामूर्खहरूलाई त्यो बेच्न सफल हुन्छन्। यस्ता महामूर्ख भनेका ती हुन्, जसले सेयरको मूल्यांकन, वित्तीय विवरण लगायत सबै तथ्यांक बेवास्ता गर्छ्। अन्ततः रित्तो झोला बोकेर घर फर्किन्छन्!