२९ महिनाकै उच्च तहमा आइपुग्दा नेप्सेले पटक–पटक २८ सयको विन्दुमा आएर प्रतिरोध सामाना गरिरहेको छ। गत साताको बुधबारदेखि नेप्सेले २८ सयको विन्दु भेट्ने वा आसपास आएर घट्ने गरेको छ।
यसले यो विन्दु नेप्सेको लागि बलियो प्रतिरोध प्रमाणित भइरहेको छ। सामान्यतः शून्य अंकका विन्दुहरू बजारको लागि मनोवैज्ञानिक तहको रूपमा रहेको हुन्छ। सबै शून्य विन्दु मनोवैज्ञानिक तह नै मानिए पनि कुनै कुनै खासमा गएर सेयर बजारले बलियो प्रतिरोध पाउँछ।
आखिर किन २८ सयको यो तह बजारमा कडा मनोवैज्ञानिक तहको रूपमा देखिँदै गएको छ?
'नेप्सेले यसपटक २ हजारको तह पार गरेर बढ्दा लगानीकर्ताहरूको पहिलो अनुमान २५ सय विन्दुसम्म बजार बढ्छ भन्ने थियो,' एक ब्रोकरले भने, 'त्यसपछि बजार २८ सयसम्म बढ्छ भन्नेमा गयो, त्यसैले पनि यो तहमा आएपछि नेप्सेले प्रतिरोध पाइरहेको हो।'
बजारमा लगानीकर्ताको मनोविज्ञानलाई अन्य पक्षले पनि प्रभाव पारिरहेको हुन्छ। कहिलेकाँही यस्ता पक्ष संयोगको रूपमा समेत देखा परिरहेका हुन्छन्।
गत सोमबार संघीय संसदमा केही सांसदहरूले केही कम्पनीहरूको मूल्य अस्वभाविक रूपमा बढेको प्रसंग उठाएसँगै नेप्सेमा मंगलबार भारी गिरावट आयो।
मंगलबार नेप्से एकैदिन १४५ अंकले घट्यो। काराबोर रकम पनि एतिहासकै उच्च २३ अर्ब हाराहारी आयो। मंगलबार पनि नेप्से २८१५ मा पुगेर ओर्लिएको थियो।
यसको प्रभाव भोलिपल्टै सेलायो। बुधबार बजार एक सय आठ अंकले बढ्यो। तर, २७६० माथि जान सकेन।
बिहीबार फेरि बजार बढ्ने प्रयासमा रह्यो। नेप्सेले यसदिन पनि २८११ को विन्दु भेट्यो। संयोग बिहीबार पनि संघीय संसदको उपसमिति अर्थसमितिमा सेयर बजारबारे छलफल भयो। केही संसदहरूले त्यहाँ पनि सेयर बजारमा भित्री कारोबार भइरहेको टिप्पणी गरे।
बिहीबार बजार हुँदा भने नेप्से ६.७० अंकले बढेर २७६६ विन्दुमा आइपुगेको छ।
बजार मनोवैज्ञानिक विन्दुमा रहँदा त्यसपछि विकास हुने घटना क्रमले नै यसलाई डोर्याउँछ। सकारात्मक कुरा धेरै सुनिए बजार बढ्छ भने नकारात्मक कुरा धेरै भएमा बजार घट्छ।
त्यसैले आगामी दिनमा बजारमा कस्ता खबर आउँछन्, त्यसैले बजारलाई डोर्याउने जानकारहरू बताउँछन्। पछिल्लो समय नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण पनि सार्वजनिक गरिरहेका छन्।
नेप्सेमा सूचीकृत कुनै–कुनै समूहमा रहेका सबै कम्पनीको वित्तीय विवरण समेत सार्वजनिक भइरहेका छन्। त्यसैले अब बजारलाई यस्तै विवरणले डोर्याउन सक्ने समेत जानकारहरूको भनाइ छ।
'बजार बुलिसमा हुँदा लगानीकर्ताहरूले धेरै पक्षलाई याद नगरी बजारसँगसँगै लगानी थप्दै जान्छन्,' एक लगानीकर्ता भन्छन्, 'जब वृद्धि थामिन थाल्छ, त्यसपछि भने आधारभूत पक्ष राम्रा भएका कम्पनीहरूमा जोड दिँदै जान्छन्।'
यो क्रममा अपवाद बाहेक कम्पनीको वित्तीय अवस्था राम्रो देखिएको वा सुधार भइरहेको, प्रतिफल दिने क्षमता भएको वा मूल्य निकै कम रहेको जस्ता कम्पनीहरूमा लगानीकर्ता केन्द्रीत हुन थाल्ने उनी बताउँछन्।
सेयर बजारको पछिल्लो अवस्था के छ? सेयर बजारमा कसरी कमाइन्छ र कमाएको पनि कसरी गुम्छ हेर्नुस् भिडियो: