एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) संग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ।
सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी सोमबार भएको यो सम्झौता भएको हो। उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।
नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो।
सिफेम र एसडिसीबीचको सहकार्यमा भएको यो लगानी नेपालसँग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा रहेको बताइएको छ।
सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसीले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा (क्रेडिट इन्ह्यान्समेन्ट) प्रदान गरेको छ। यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्ने विश्वास लिइएको छ। विशेषगरि वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्दर्भिकता अझै महत्वपूर्ण रहेको बताइएको छ।
सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहुँच अभिबृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने जानकारी गरिएको छ।
नेपालका लागि स्वीट्जरल्याण्डकी महामहिम राजदुत एलिजावेथ भोन क्यापेलरले भने, ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंकमा ऋण लगानीबाट नेपाल–स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको छ। यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघु साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ।’
त्यसैगरी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ‘नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको छ।
हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्नेछ।’
एनएमबि बैंक र सिफेमबीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता रहेको बताइएको छ।