नेपालमा कमोडिटी एक्स्चेन्ज मार्केट (वस्तु बिनिमय बजार) सञ्चालन गर्ने कम्पनीहरू खोल्न केही दिनमै प्रस्ताव आह्वान गरिने भएको छ। नेपाल धितोपत्र बोर्डले मार्केट सञ्चालन गर्ने कम्पनीका लागि असार मसान्तभित्रै आवेदन प्रस्ताव गर्न लागेको हो। कति वटा मार्केट सञ्चालन गर्न अनुमति दिने भन्ने संख्या भने बोर्डले तय गरेको छैन।
‘अब पहिले नै संख्या तोकिँदैन, निर्देशिकामा तोकिएको मापदण्ड पूरा गर्ने कम्पनीहरूलाई अनुमति दिने भन्नेमा छौं। मापदण्ड पूरा गरेर जति कम्पनीले आवेदन दिन्छन्, तिनीहरूलाई स्वीकृति दिइनेछ,’ बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले सेतोपाटीसँग भने।
नेपालमा कम्तीमा दुई र बढीमा चार वटासम्म कमोडिटी एक्स्चेन्ज मार्केट सञ्चालन गर्न सकिने विज्ञहरूले औंल्याउँदै आएका छन्। बोर्डमा आवेदन परेपछि योग्य कम्पनीहरूलाई प्रारम्भिक अनुमति दिइनेछ।
‘अनुमति दिइसकेपछि उनीहरूले तोकिएअनुसारको पूर्वाधार र संरचना बनाउनुपर्नेछ। त्यसपछि पूर्वाधार तयार भए/नभएकोबारे बोर्डले अनुगमन गरेपछि मात्रै सञ्चालनको लागि लाइसेन्स पाउने हुन्,’ गिरीले भने।
मार्केट सञ्चालनको लाइसेन्स दिन अझै ६/७ महिनासम्म लाग्न सक्ने उनले बताए। यसअघि पनि कमोडिटी मार्केट सञ्चालनका लागि भन्दै छ वटा कम्पनीले आवेदन दिएका थिए। तर मापदण्ड अपूरो भएकाले त्यत्तिकै रोकिएको थियो। ती छ सहित अरू कम्पनीले पनि फेरि गरिने प्रस्तावमा मापदण्ड पूरा गरेर आवेदन दिन सक्नेछन्।
यी कमोडिटी मार्केट कम्पनीहरू पब्लिक हुनुपर्छ भन्ने जरूरत नरहेको गिरीले बताए। ५१ प्रतिशत सेयर हिस्सा विदेशी रणनीतिक साझेदार कम्पनीले हाल्न पाउने व्यवस्था छ। विदेशी रणनीतिक साझेदार वा लगानी अनिवार्य भने नगरिएको उनले स्पष्ट पारे।
कमोडिटी एक्स्चेन्ज मार्केट कम्पनीको चुक्ता पुँजी कम्तीमा पचास करोड तोकिएको छ। आवश्यकताअनुसार यो रकम बढाउँदै लैजान सकिनेछ। स्थापना हुने कम्पनीमा कम्तीमा दुई स्वतन्त्र सञ्चालकसहित बढीमा सात सञ्चालक हुने व्यवस्था छ।
कुनै पनि व्यक्तिले एक कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर ग्रहण गर्न नपाउने व्यवस्था छ। त्यस्तै एक व्यक्तिले दुई वा सोभन्दा बढी कम्पनीको सेयर ग्रहण गर्न पाउने छैन।
कमोडिटी मार्केट कम्पनीहरूले नै आफ्ना व्यवसायीलाई सदस्यता दिनेछन्। तिनै व्यवसायीले ग्राहक दर्ता गर्नेछन् र वस्तु कारोबार गर्नेछन्। कारोबारका लागि ग्राहक जोडिने व्यवसायीसँग हो, कमोडिटी मार्केट कम्पनीसँग होइन।
साथै कमोडिटी मार्केट एक्स्चेन्ज कम्पनीहरूले ‘ट्रेडिङ सिस्टम’ सञ्चालन र संरक्षण गर्नेछन्। त्यस्तै कारोबार फर्स्यौटका लागि राफसाफ तथा फर्स्यौट व्यवसायी नियुक्त हुनेछन्। बजार कम्पनीले नै वेयर हाउस (गोदामघर) तोक्न सक्नेछ। ती गोदामघरमा कारोबार हुने वस्तु भौतिक रूपमा भण्डारण गरिनेछ। यसरी भण्डारण भएको वस्तु नै कारोबारी कसैलै भौतिक रूपमा माग गरेमा सो हस्तान्तरण हुनेछ।
नेपालमा १४ वर्षअघि पनि तीन वटा कमोडिटी मार्केट सञ्चालनमा थिए। वि.सं. २०७४ मा वस्तु बिनिमय बजारसम्बन्धी विधेयक पारित भएपछि यसलाई नियमन गरी व्यवस्थित गरिने भयो। त्यसपछि सञ्चालनमा रहेका ती तीन बजार स्वतः खारेज भए।
करिब पाँच दर्जन वस्तुको कारोबार हुनेः
कमोडिटी मार्केटमा कारोबार हुने वस्तुहरू वस्तु विनिमय बजार नियमावलीले नै तय गरेको छ। कारोबार हुने वस्तुहरुलाई कृषि, धातु, खनिज, तेलजन्य र अन्य वस्तुको रूपमा वर्गीकरण गरिएको छ।
जसअनुसार कृषिजन्य उत्पादनमा कपास, अलैंची, जीरा, खुर्सानी, मरीच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसको कारोबार हुनेछ।
त्यस्तै धातुजन्य वस्तुमा आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिल र जिंकको कारोबार हुनेछ।बहुमूल्य धातु अन्तर्गत सुन, चाँदी र प्लाटिनमको कारोबार हुनेछ। त्यस्तै खनिजमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयलको कारोबार हुनेछ।
तेलजन्य वस्तुमा नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल र आलसको तेलको कारोबार हुनेछ। अन्य अन्तर्गत चिनी, सख्खर, चिया, कफी, अण्डा र जडिबुटीको कारोबार हुनेछ।
कमोडिटी मार्केटमा कसरी हुन्छ कारोबार?
यो बजारमा वस्तुहरूको करारमा कारोबार हुने गर्छ। क्रेता र विक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी करार सम्पन्न हुन्छ। तिनै करारको सूचीकृत कमोडिटी एक्सचेन्जमार्फत कार्यान्वयन गरिन्छ।
वस्तुको मूल्यमा हुने उतार चढावबाट सिर्जित जोखिम न्यूनीकरण गर्न यसले मद्दत गर्छ। उक्त उतारचढावबाट कारोबारीले फाइदा लिने उद्देश्य लिन्छन्।
बजारमा वस्तुहरूको माग र आपूर्तिको आधारमा करारको निष्पक्ष मूल्य आविष्कार हुन्छ। सामान्यतया यस्तो बजारमा प्राकृतिक (कच्चा तथा तयारी वस्तुबाहेक) धातु, ऊर्जा तथा कृषिजन्य वस्तुको कारोबार हुने गरे पनि बदलिँदो परिदृष्यमा ब्याजदर, मुद्रा तथा सूचांकजस्ता वस्तुहरूमा समेत कतिपय मुलुकहरूमा कारोबार हुँदै आएको छ।
यो बजार एक लगानीको क्षेत्र मात्र नभई मूल्य जोखिमलाई न्यूनीकरण गर्न पनि सहयोग पुर्याउने अनुमान छ। एकातिर किसानले सही मूल्य नपाइरहेको र अर्कोतर्फ उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन्। बिचौलियाले लिने यो मूल्य अन्तरलाई हटाउन तथा किसान र उपभोक्ता दुवैलाई फाइदा पुर्याउन कमोडिटी मार्केटले मद्दत पुग्ने विज्ञहरु बताउँछन्।