एनआइसी एसिया बैंकले सर्वसाधारणका लागि १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र बिक्री खुला गरिरहेको छ। माघ १३ गतेदेखि निश्कासन भएको ऋणपत्रमा आवेदन दिन २ दिन बाँकी छ। यस अवधिसम्म जम्मा ११ करोड ३१ लाख रुपैयाँको मात्रै आवेदन परेको छ।
प्रतिकित्ता १ हजार रुपैयाँको दरमा निश्कासन हुने ऋणपत्रमा कुल १ हजार ३६ संख्याले १ लाख १३ हजार कित्ताका लागि मात्रै आवेदन दिएको बिक्री प्रवन्धक एसबिआई क्यापिटलका एसिस्टेन्ट खेमराज भट्टले जानकारी दिए।
ऋणपत्रमा कम आवेदन पर्ने एनआइसी एसिया बैंक एक्लो होइन। यसअघि सानिमा, सिद्धार्थ लगायत धेरै बैंकले निश्कासन गरेको ऋणपत्रको हालत पनि त्यस्तै दयनीय रह्यो। यहीबीचमा ग्लोबल आइएमई बैंकको ऋणपत्र फागुन १५ देखि निश्कासन हुँदैछ। अरु दुई बैंक एनएमबि र सनराइज बैंकले ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
हाल बैंकहरुले चाहेमा ऋणपत्र निश्कासन गरी दीर्घकालीन स्रोत जुटाउन सक्ने व्यवस्था छ। तर अब भने राष्ट्र बैंकले सबै बैंकलाई अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गर्ने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरुको साधन परिचालनमा देखिने असन्तुलनलाई न्यूनीकरण गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरिने मौद्रिक समीक्षामा उल्लेख छ। यो व्यवस्थाले दीर्घकालीन स्रोत जुट्ने राष्ट्र बैंकको भनाई छ। मौद्रिक समीक्षामा गरिएका व्यवस्था अनिवार्य रुपमा लागू हुने डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए।
यद्यपी यो व्यवस्थाप्रति बैंकहरुले असन्तुष्ट जनाउँदै आएका छन्। अहिले नै जारी भएका ऋणपत्र बिक्री हुन नसकिरहेको अवस्थामा राष्ट्र बैंकले गरेको व्यवस्थाले झनै समस्या थपिने बैंकरको भनाई छ। ‘अहिले नै ऋणपत्र बिक्न सकेको छैन, अर्कोतर्फ प्रत्याभुतिकर्ता पनि अनिच्छुक हुँदै गएका छन्, तर सबैलाई अनिवार्य गर्दा झन् ठूलो समस्या आउँछ’ एक बैंकका प्रमुख कार्यकारीले भने।
यसअघि कुल निश्कासन ऋणपत्रको २० प्रतिशत सर्वसाधारणलाई जारी गरे हुने व्यवस्था थियो। हालै यो सीमा बढाएर ४० प्रतिशत पुर्याइएको छ।
किन बिक्दैनन् ऋणपत्र ?
सूचीकृत ऋणपत्रको बजारमा कारोबार नहुनु नै प्रमुख समस्या रहेको विज्ञहरु औंल्याउँछन्। लगानी गरिसकेपछि लगानीकर्ताले ‘फ्रि इक्जिट’ खोज्छन्, तर ऋणपत्रमा त्यो वातावरण बनेको नदेखिँदा पनि बिक्रीमा समस्या आएको उनीहरुको भनाई छ।
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरे भन्छन् ‘बजारमा कारोबार भइरहेमा त्यहाँबाट तरलता सिर्जना हुन्छ, तर बजारमा कारोबार भएको पाइँदैन, लगानी गर्नेले भोलि चाहेकै बेलामा सहज रुपमा बिक्री गर्ने वातावरण नबन्दा पनि समस्या देखिएको हो।’
त्यस्तै ऋणपत्रको ‘भ्यालुएसन’ पनि अर्को कारण रहेको घिमिरे औंल्याउँछन्। किनेकै मूल्यमा थप प्रतिफल लगानीकर्ता चाहन्छ। तर कारोबार नहुने र मूल्य पनि नबढ्ने अवस्था हुँदा सर्वसाधारणको रुची ऋणपत्रमा नदेखिएको उनले बताए। हालको अवस्थामा भने तरलताको समस्या पनि प्रमुख कारण बनेको विज्ञहरु बताउँछन्।
धेरै सर्वसाधारणलाई ऋणपत्रको बारेमा जानकारी नहुने गरेको र जानकारी भएकाहरु पनि लामो अवधिका लागि लगानी गर्न नचाहने गरेको पाइन्छ। बैंकहरुले जारी गर्ने ऋणपत्रको अवधि प्रायः ७ देखि १० वर्षे अवधिसम्मको हुने गर्छ।
‘भोलि परिवारका कुनै सदस्यलाई पैसा चाहिएला, भैपरी आउने समस्या जे पनि हुन सक्छ जब चाहेका बेला बेच्न पाइँदैन भने त बचाएको पैसाको के अर्थ?’ धितोपत्र लगानीकर्ता पिताम्बर खरेलले भने।
ऋणपत्र जारी गर्ने बैंकहरुले दिने प्रतिफल पनि कम भएको उनको भनाई छ। स्रोतका अनुसार राष्ट्र बैंकले नै ऋणपत्रमा साढे १० प्रतिशतभन्दा बढी प्रतिफल नदिन भनेकाले बैंकहरुले सोभन्दा बढी नदिएका हुन्।
‘धेरै अवधिको हुने ऋणपत्रमा यसअघिको मुद्दती व्याजभन्दा कम प्रतिफल हुनुले पनि रुची नभएको हो’ खरेलले दावी गरे। बैंकहरुले यसअघि नै मुद्दतीमा १३ प्रतिशतसम्म व्याज दिएका थिए।
मुद्दतीमै रकम राख्नेहरुले पनि १ वर्षभन्दा बढी अवधिको लागि नराख्ने गरेका छन्। ‘धेरैले १ वर्षभन्दा कम अवधिकै लागि मुद्दतीमा रकम राख्ने गरेको पाइन्छ’ कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने।
हुन त ऋणपत्र बैंकमा धितो राखेर ९० प्रतिशतसम्म ऋण पाइन्छ। जुन बैंकको ऋणपत्र आफूसँग छ, त्यो बैंकबाहेक अन्यबाट धितो राखी ऋण लिन पाइन्छ।
जसले भैपरी आउने आर्थिक समस्या समाधान हुन्छ। तर लिएको ऋणको व्याज र शुल्क ऋणपत्रको प्रतिफलभन्दा बढी हुने भएकाले उल्टै नोक्सानी पर्ने लगानीकर्ताको तर्क छ।
हाल ११ बैंकका २० वटा नामका ऋणपत्र स्टक एक्स्चेन्जमा सूचीकृत छन्। सिद्धार्थ, एसबिआई र एनआइसी एसिया बैंकका ३/३ वटा ऋणपत्र सूचीकृत भएका छन्। बैंक अफ काठमाण्डु, एभरेष्ट र इन्भेष्टमेन्टका २/२ वटा ऋणपत्र सूचीकृत छन्।
ग्लोबल आइएमई, लक्ष्मी, हिमालयन, सिटिजन्स तथा एनएमबि बैंकको १/१ वटा ऋणपत्र जारी भएका छन्। पछिल्ला ऋणपत्रमा बैंकहरुले प्रतिफलस्वरुप १० देखि ११ प्रतिशतसम्मको व्याज दिँदै आएका छन्।
यी हुन् बजारमा सूचीकृत ऋणपत्र
Source: Nepal Stock Exchange
के हो ऋणपत्र ?
कम्पनीले लगानीका लागि लिने ऋणको साना इकाईलाई वर्गीकरण गरेर दिने प्रत्याभुतिपत्र नै ऋणपत्र हो।
सामान्यतः यस्तो ऋणपत्रको अंकित मूल्य १ हजार रुपैयाँ हुने गर्दछ। कम्पनीले कुनै सम्पत्ति धितो वा बन्धक नराखी ऋण जुटाउन सक्छ। ऋणपत्र किन्नेलाई कम्पनीले निश्चित अवधिसम्म तोकिएको व्याजदर प्रदान गर्दछ।
यस्तो ऋणपत्र दोस्रो बजार ९नेप्से०मा सूचीकृत भइ कारोबार पनि हुने गर्दछ। यदी बीचमै केही अवधिका लागि पैसा आवश्यक परेको खण्डमा यो ऋणपत्र बैंकमा धितो राखी रकम समेत लिन पाइनेछ। तर ऋणपत्र जारी गरेको बैंकले नै आफ्नै ऋणपत्र धितो राख्न पाउँदैनन्।
तोकिएको अवधि पुरा भइसकेपछि लगानीकर्ताले साँवा रकम फिर्ता पाउने छन्।साधारणसभामा भाग लिने, व्यवस्थापनमा असन्तुष्ट जनाउने लगायतका सेयरधनीलाई प्राप्त अधिकांश अधिकार ऋणपत्रका लगानीकर्तालाई हुँदैन। सेयरमाभन्दा ऋणपत्रको जोखिम कम हुन्छ।