एउटा बैंक छाडेर अर्कोमा जानुअघि सिइओ ६ महिनासम्म ‘बेरोजगार’ बस्नुपर्ने


बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरु अब एउटा बैंक छाडेर अर्कोमा जानुअघि ६ महिना खाली बस्नुपर्ने भएको छ। अर्थात छोडेको ६ महिनासम्म नयाँ पदवहाली गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सिइओ तथा संचालकका लागि ६ महिने यस्तो ‘कुलिङ पिरियड’ लागू गरेको हो।

यो लागू भएसँगै एउटा बैंक वा वित्तीय संस्थाबाट राजीनामा दिएको ६ महिनासम्म अर्को कुनै बैंक वा वित्तीय संस्थामा पदबहाली गर्न पाइने छैन। पदावधि नसकिँदै हटेर पुनः त्यही बैंकमा पद बहाली गर्न वा संचालक समितिको सदस्य रहन पनि ६ महिना पुरा हुनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै एउटा बैंक तथा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पुनः अर्कोमा जान पनि ६ महिनाको अवधि पुरा हुनुपर्ने व्यवस्था गरिएको छ।

स्वतन्त्र संचालकको हकमा भने यो लागू हुने छैन। कार्यकाल बाँकी रहँदा नै संस्थाबाट हटेमा पुनः बाँकी कार्यकालका लागि सो व्यक्ति संचालक पदमा निर्वाचित वा मनोनित हुन पाउने छैन।

हालै नविल बैंकमा सिइओका रुपमा जान लागेका अनिलकेशरी शाहलाई पनि यो निर्देशिकाले प्रभावित पार्ने भएको छ। मेगा बैंकबाट राजीनामा दिएका उनी त्यसको ६ महिनाअघि नविलको सिइओको रुपमा बहाल हुन नपाउने भएका छन्। पुसमा मेगा बैंक छाडेका उनले फागुनमा नविलको कार्यभार सम्हाल्ने मिति तय भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.