नेपालमा बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालित साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन-सिबिसिएफले 'सिबिसिएफ प्रोजेक्ट डल्फिन' को घोषणा गरेको छ।
यो नेपालको खतराको सूचीमा रहेको जीव 'डल्फिन' संरक्षणका लागि समर्पित एक पहल रहेको कम्पनीको भनाइ छ।
विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा सो प्रोजेक्ट औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद् र सामुदायिक अगुवाहरूलाई एकै स्थानमा ल्याउने छ।
डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन्।
सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ।
नेपालमा बिवाइडी डल्फिन इभी लोकप्रिय छ। बिवाइडी डल्फिन इभी र यही नामको जीवको संरक्षणबीचको उल्लेखनीय तालमेलको आधारमा सिबिसिएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको बताइएको छ।
सिबिसिएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन विषयमा प्यानल डिस्कसन सम्पन्न भयो।
सो अवसरमा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक 'डल्फिनको सपना' समेत लोकार्पण गरिएको छ।
अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित सो पुस्तक साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसनको विद्यालय सचेतना अभियानको एक भाग हो।
सो पुस्तकको कभर बिवाइडीका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरे।