एलएस अटोले थप दुई मोडेलहरू एलइभी ०३ र एलइभी ०५ इभी सार्वजनिक गरेको छ।
एलइभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयुभी हो भने एलइभी ०५ मिडसाइज कम्प्याक्ट एसयुभी हो।
एलएस अटोले बनाएको पहिलो मोडेल एलइभी ०१ नेपाल भित्रिसकेको छ।
नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलइभी ०१ नेपाल भित्रिएको हो।
स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलइभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो इभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ।
यो मोटरले ३०० न्युटन मिटरको टर्क उत्पन्न गर्छ।
एलइभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ।
प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ।
एलएस अटो एलइभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ। यसको ब्याट्री प्याक अन्य इभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिदैन।
ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसिएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ। चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयुभी निकै एरोडाइनामिक रहेको छ।
यसको ड्र्याग कोएफिसियेन्ट इलेक्ट्रिक एसयुभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ।
यो इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ।
प्रिमियम डिजाइन रहेको एलइभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ।
लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टिकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसिडी इन्स्ट्रुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको छ।
सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबिएस, इबिडी, इपिएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ।
नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रूपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रूपैयाँ तोकेको छ।
आफैँ डिजाइन हाउस समेत भएकाले यो कम्पनीले बनाएका गाडीहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड ड्राइभ दुबै अप्सनमा एकैसाथ उत्पादन गर्छ।
देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौं बालुवाटारस्थित चिनियाँ दूतावास नजिकै सोरुम सञ्चालन गरिसकेको छ र अर्को साताभित्र ललितपुरको बालकुमारीबाट पनि शोरूम सञ्चालन गर्ने भएको छ भने काठमाडौंको मनमैजुमा सर्भिस सेन्टर समेत स्थापना गरेको छ।