टाटा मोटर्सको बहुप्रतिक्षित बिजुली गाडी (इभी) 'कर्भ' नेपाली बजारमा उपलब्ध भएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आइतबार एक कार्यक्रमबीच कूप डिजाइनको एसयुभी कर्भको बिक्री खुला भएको घोषणा गरेको हो।
सिप्रदीले कर्भ इभीको नेपालमा परीक्षण गरेपछि बिक्री सुरु गरिएको जनाएको छ। हाल नेपालमा कर्भको टप भेरियन्ट मात्र उपलब्ध गराइएको सिप्रदीले जनाएको छ।
कर्भ इभीमा ५५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री छ। एक पटकको पूरा चार्जमा यो गाडी ३८० देखि ४०० किलोमिटरसम्म चल्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो कारले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमा लिन सक्छ। गाडीको लम्बाइ ४३१० मिमी, चौडाइ १८१० मिमी, उचाइ १६३० मिमी र ह्विलबेस २५६० मिमी छ। ११९ मिमी ग्राउन्ड क्लियरेन्स भएको यो इभीमा १८ इन्चका अलोय चक्का छन्।
कर्भ हाल सेतो र खरानी रङमा पाइन्छ।
यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टच बेस क्लाइमेट कन्ट्रोल बटम, फोर-स्पोक स्टेरिङ ह्विल, नेभिगेसन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ।
यसले सेफ्टी रेटिङमा पाँच तारा पाएको छ। ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, रोटरी ड्राइभ सेलेक्टर, वायरलेस चार्जिङ प्याड, पानारोमिक सनरूफ, भेन्टिलेटेड सिट, जेबिएल साउन्ड सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड, हिल स्टार्ट डिसेन्ट असिस्ट, इएसपी, ड्राइभ ड्राउजिनेस अलर्ट, ब्लाइन्ड स्पट मनिटर र लेभल २ एडासजस्ता फिचर यसमा छन्।
कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।
सिप्रदीले यसअघि टाटाका नेक्सन के३, टियागो र पन्च इभी पनि बेचिरहेको छ।
