निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण नेपाल भित्रिएको छ।
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले परीक्षणका रूपमा यो गाडी नेपालको सडकमा ल्याएको हो।
पायोनियर मोटोकर्पले यसको लन्चिङ समय बारेमा आधिकारिक जानकारी दिएको छैन। यद्यपि हाल यसको परीक्षण चलिरहेको र यही फेब्रुअरी महिनाभित्रै लन्च हुने अनुमान गरिएको छ।
नेपाली सडकमा पहिले पनि प्रशस्तै निसान म्याग्नाइट उपलब्ध छन्। अब अझै सुधारिएको भर्सनको रूपमा यसको फेसलिफ्ट भर्सन आइपुगेको हो।
यसको ग्रिल र क्रोम वरिपरि पुनः डिजाइन गरिएको फ्रन्ट बम्पर र एलइडी टेल लाइट समावेश गरिएको छ।
यसका साथै यसमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल नयाँ डिजाइनको छ भने फ्रन्ट फग ल्याम्प पनि नयाँ डिजाइनको छ।
यसको इन्टेरियरमा धेरै परिवर्तन गरिएको छ। यसको ड्यासबोर्ड, डोर प्याड र सेन्टर कन्सोल वरपर नयाँ ब्लाक र ओरेन्ज रंगको थिम दिइएको छ।
यसको ड्यासबोर्ड लेआउट, एसी भेन्ट्सको डिजाइन र स्टेयरिङ ह्विल प्रि–फेसलिफ्ट मोडलभन्दा भिन्न छ।
यसमा ८ इन्चको टचस्क्रिन, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ४ रंगको एम्बियन्ट लाइटिङ र वायरलेस फोन चार्जर जस्ता फिचर समावेश छ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो डिमिङ आइआरभिएम र ३६० डिग्री क्यामेरालगायत अन्य फिचर उपलब्ध गराइएको छ।