लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ।
सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध व्यवसायीहरू र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्।
यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन्।
सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट व्यवस्थापक प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका गोलपार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ।
केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ।
केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
पश्चिम नेपाल बस व्यवसायीमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा छन्।
यसले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ।