टोयोटाले १४ अर्ब अमेरिकी डलर लगानीमा अमेरिकामा पहिलो इन–हाउस उच्च भोल्टेज ब्याट्री उत्पादन कारखाना स्थापना गरेको छ।
उत्तर क्यारोलिनामा खोलिएको यस कारखानाबाट कम्पनीले आगामी अप्रिलदेखि विद्युतीय सवारी साधनका लागि ब्याट्री आपूर्ति सुरू गर्ने जनाएको छ।
यसअघि टोयोटाले जापानमै आफ्ना सहायक कम्पनीमार्फत ब्याट्री उत्पादन गर्दै आएको थियो।
विशेषगरी, प्राइमअर्थ इभी इनर्जी नामक सहायक कम्पनीले हाइब्रिड सवारी साधनका लागि ब्याट्री निर्माण गरेको थियो।
तर, जापान बाहिर भने टोयोटाले पहिलोपटक आफ्नै स्वामित्वमा ब्याट्री उत्पादन कारखाना सञ्चालनमा ल्याएको हो।
नयाँ कारखानामा १४ वटा एसेम्बली लाइन छन्, जसमा १० वटा लाइन विद्युतीय गाडीका लागि ब्याट्री मोडेल उत्पादन गर्न केन्द्रित हुने उल्लेख छ।
त्यहाँ उत्पादन भएका ब्याट्री तथा मोड्युलहरू टोयोटाका विभिन्न सवारी साधन उत्पादन केन्द्रमा पठाइने जनाइएको छ।
यो कारखानाको वार्षिक उत्पादन क्षमता ३० गिगावाट–आवर रहेको छ, जसले ७० किलोवाट–आवर ब्याट्री प्रयोग हुने ४ लाख सवारी साधनलाई आपूर्ति गर्न सक्ने उल्लेख छ।
टोयोटाको विद्युतीय सवारी रणनीतिमा ढिलो भएको भनिए पनि यस कारखानाले कम्पनीलाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।