भारत सरकारले किया मोटर्स इण्डियामाथि गाडीका पाटपुर्जाको आयातमा गलत वर्गीकरण गरी १५५ मिलियन अमेरिकी डलर बराबरको करछली गरेको आरोप लगाएको छ।
समाचार संस्था रोयटर्सले एक गोप्य सरकारी दस्तावेज अन्य स्रोतहरूलाई उद्धृत गर्दै उक्त करछलीको आरोप लगाएको उल्लेख गरेको छ।
समाचारमा उल्लेख गरिए अनुसार यो प्रकरण फक्सवागनको केससँग मिल्दोजुल्दो देखिएको छ। ३० सेप्टेम्बर २०२४ मा जर्मन कार निर्माता कम्पनीले १ अर्ब ४ करोड अमेरिकी डलर बराबरको करछली गरेको आरोप लगाएको थियो।
भारत सरकारको कर अधिकारीहरूले २०२४ अप्रिलमा किया इण्डियालाई कर छलीसम्बन्धी गोप्य सूचना पठाएको उल्लेख गरिएको छ।
उक्त सूचनामा कम्पनीले किया कार्निभल गाडीको एसेम्बली प्रक्रियाका लागि भित्र्याइएका पाटपुर्जाहरूको आयात गलत तरिकाले घोषणा गरेको आरोप लगाइएको छ।
सरकारको दस्तावेजअनुसार उक्त करछलीको कुल रकम १३ सय ५० करोड भारू अर्थात् १५५ मिलियन अमेरिकी डलर छ।
रोयटर्सका अनुसार किया इण्डियाले कार्निभल मोडेललाई अलग–अलग पाटपुर्जाको रूपमा विभिन्न बन्दरगाहमार्फत आयात गरेको थियो।
यस रणनीति अपनाएर कम्पनीले कस्टम ड्युटी कम तिर्ने योजना बनाएको र यसरी गरिएको आयात सहजै पत्ता नलाग्ने उद्देश्य रहेको दाबी गरिएको छ।
यदि किया इण्डियाले सरकारी मुद्दा हारेमा उसलाई करछली बापतको रकमको झन्डै दोब्बर, अर्थात् ३१० मिलियन अमेरिकी डलर तिर्नुपर्ने हुनसक्छ। भारतमा पूर्ण रूपमा बनेका कारहरू आयात गर्दा १०० प्रतिशतभन्दा बढी कर लाग्छ।
भारतका सरकारी अधिकारीहरूका अनुसार किया इण्डियाले हालसम्म ३२ मिलियन अमेरिकी डलर 'विरोधस्वरूप' जम्मा गरिसकेको छ। कियाले यो मुद्दा लड्ने तयारी गरिरहेको छ।
२०२२ मा भारत सरकारले किया इण्डियाका अफिस र आन्ध्र प्रदेशस्थित कारखानामा छापा मारेको थियो।