हालै भारतमा सार्वजनिक भएको हुन्डाईले आफ्नो बहुप्रतिक्षित विद्युतीय एसयुभी 'क्रेटा इभी' केही समयमा नै नेपाली बजारमा ल्याउने भएको छ।
नेपालमा हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फ्रेब्रुअरी अन्तिमसम्म यो गाडी नेपाली बजारमा ल्याइने जनाकारी गराएको हो।
यो गाडी केही दिन अघिमात्रै भारतीय मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको थियो।
४२ किलोवाट घण्टा ब्याट्री क्षमताको संस्करणको क्रेटा इभीले प्रति किलोवाट घण्टा ८ किलोमिटर माइलेज दिनेछ।
एआरएआई प्रमाणित दायरा भने ३९० किलोमिटरको रहेको छ।
नेपालका लागि अनुमानित रेन्ज ३००देखि ३३० किलोमिटर रहेको छ।
५२ किलोवाट घण्टा ब्याट्री क्षमता संस्करणको भने नेपालका लागि रेन्ज ९० देखि ४२० किलोमिटर रेन्जको अनुमान गरिएको छ। एआरएआई प्रमाणित दायरा भने ४७३ किलोमिटर छ।
यो गाडी नेपालका लागि उपयुक्त हुने बिक्रेता कम्पनीको बुझाइ छ। २०० मिलिमिटर भू–स्तर उचाइको कारण सहरी, पहाडी र अफ–रोडबाटोमा चलाउन सहज हुनेछ।
ऊर्जा पुनर्जनन ब्रेकिङ प्रणालीको कारण ओरालोमा ऊर्जा पुनः प्राप्त गर्न सकिने, उन्नत चालक सहायता प्रणाली जडानले सुरक्षामा सहयोग पुग्ने बुझाइ छ।
११ किलोवाट एसी होम चार्जिङले ४ घण्टामा पूर्ण चार्ज हुने जनाइएको छ।