ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट तथा सुदूरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो।
कार्यक्रममा सम्बोधन गर्दै क्रिकेटर ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गरे।
‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक इभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ। इनोभेसन (नवप्रवर्तन) र फ्युचरिस्टिक टेक्नोलोजीमा अग्र रहँदै इभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु,’ ऐरीले भने।
एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव सारडाले ऐरी जस्ता चर्चित युवा खेलाडीलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाएकोमा खुसी लागेको बताए।
'अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पुरूष टिट्वान्टी अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन्। आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं,’ सारडाले भने।