चिनियाँ कम्पनी बिवाइडीले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी सिलियन ७ अष्ट्रेलियन बजारमा पुर्याउने भएको छ।
नयाँ वर्ष सन् २०२५ को फेब्रुअरीदेखि बिक्री सुरू गर्ने तयारी बिवाइडीले गरेको छ। यो गाडी टेस्ला मोडल वाईसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने लक्ष्यसहित बजारमा पुर्याउन थालिएको बिवाइडीले जनाएको छ।
टेस्लासँग यसको प्रतिस्पर्धा मुख्यतः मूल्य, विशेषता र प्रविधिका आधारमा हुने उल्लेख छ। सिलियन ७ को मूल्य टेस्ला मोडल वाईभन्दा केही सस्तो रहेको कम्पनीको दाबी छ।
अष्ट्रेलियामा टेस्ला मोडल वाईको प्रारम्भिक मूल्य ५५ हजार ९०० अष्ट्रेलियन डलर छ भने बिवाइडीको अन्य गाडी (सिल सेडान) को ४९ हजार ८८८ अष्ट्रेलियन डलरबाट सुरू छ।
प्रतिस्पर्धात्मक मूल्यले टेस्लाको बजार हिस्सा खस्काउन सक्ने अनुमान गरिएको छ।
साथै, सिलियन ७ का विशेषताहरू पनि टेस्लासँग बलियो रूपमा प्रतिस्पर्धा गर्न सक्षम देखिने बताइएको छ। यो गाडी दुई संस्करणमा उपलब्ध हुने बिवाइडीले जनाएको छ।
सिंगल मोटर (आरडब्ल्युडी): २३० किलोवाट पावर उत्पादन गर्ने, अधिकतम प्रतिघण्टा सय किलोमिटरको स्पिड ६.७ सेकेन्डमा पूरा गर्ने।
डुअल मोटर (एडब्ल्युडी): ३९० किलोवाट पावर उत्पादन गर्ने, अधिकतम प्रतिघण्टा सय किलोमिटर ४.५ सेकेन्डमा पूरा गर्ने।
सिलियन ७ मा उपलब्ध ठूला ब्याट्रीले ५०२ किलोमिटरसम्म दायरा दिइने, फास्ट चार्जिङ सुविधाका कारण गाडीलाई छोटो समयमा चार्ज गर्न सकिने, फास्ट चार्जिङ क्षमता २३० किलोवाटसम्म हुने लगायत विशेषता रहेको बिवाइडीले जनाएको छ। यो विशेषता टेस्लाको सुविधासँग मेल खान्छ।
सिलियन ७ गाडीको लम्बाइ ४८३० मिमि, चौडाइ १९२५ मिमि र उचाइ १६२० मिमि रहेको छ। यसको ह्विलबेस २९३० मिमि रहेको छ, जुन टेस्ला मोडल वाईभन्दा अलि ठूलो हो।
चिनियाँ कम्पनीहरूले पछिल्लो समय इलेक्ट्रिक गाडी बजारमा ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न बलियो मोडेलहरू प्रस्तुत गरिरहेका छन्।